८ महिनामा मोबाइल आयातमा ३१ अर्ब बाहिरियो

२३ चैत, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन–फागुन)मा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ८ महिनामा ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । ८ महिनामा ४२ लाख ६० हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ४ अर्ब ८९ करोड राजस्व पनि उठाएको छ । गत आर्थिक वर्षको यस्तै अवधिमा ४९ लाख ९३ हजार थान सेट आयात हुँदा २६ अर्ब ३० करोड बाहिरिएको थियो । त्यसबाट सरकारले ४ अर्ब १६ करोड राजस्व उठाएको थियो ।

यो वर्ष मोबाइल सेटको संख्या घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब ५ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महंगा फोनको आयात बढेको हो । नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलमा सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ । कोभिड-१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको स्थापित बताउँछन् ।

नेपाल मोबाइल व्यवसायी संघका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड/पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् ।

ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढ्दो छ । ह्यांग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् । अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ३० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् । नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ । नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ । अहिले तारसहितको इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि आक्रमक रुपमा सेवा विस्तार गरेकाले पनि मोबाइल बजार बढाउन सघाउ पुगेको छ । अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार चम्किन पुगेको हो ।