६७औं कावर यात्रा भव्य तयारीमा बाँकेको श्री पशुपतिनाथ मन्दिरबाट सुरु हुने यात्रा शिवहरि घाटसम्म

नेपालगञ्ज । बाँके जिल्लामा अवस्थित श्री पशुपतिनाथ मन्दिर सञ्जालका मूल समिति बाँके गङ्गेले आयोजना गरेको ६७ औं कावर यात्राको तयारी अन्तिम चरणमा पुगेको छ। श्रावणी सोमवारी विशेष अवसरमा आयोजित यस धार्मिक यात्राले हिन्दू परम्परामा गहिरो धार्मिक महत्व राख्दछ।

यात्रा २०८२ श्रावण १८ गते सोमबार बिहान ६ बजे श्री पशुपतिनाथ मन्दिरबाट सुरू भई, सिधनुवा शिवघाट सम्म पुग्नेछ। भक्तजनहरूले उक्त घाटबाट पवित्र जल भरेर पुनः मन्दिरमा अर्पण गर्ने परम्परा अनुसार यात्रा सम्पन्न गर्नेछन्।

कार्यक्रममा विभिन्न स्थानबाट सहभागी भक्तजनहरू रहने अपेक्षा गरिएको छ, जसले धार्मिक एकता र संस्कृतिको जगेर्नामा सशक्त योगदान दिने आयोजकको विश्वास छ।

सह-आयोजकको रूपमा सन्तोष कुमार कनौजिया रहनुभएको छ भने मुख्य आयोजक श्री पशुपतिनाथ मन्दिर सञ्जालका मूल समिति, बाँके गङ्गे रहेका छन्।

श्रावण महिनामा शिवभक्तहरूले जल अर्पण गरी आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ यस पर्वमा सहभागिता जनाउने गर्छन्। आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।