निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादीसँग स्पष्ट धारणा छ : प्रचण्ड

काठमाडौं । निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहितको ध्यानाकर्षण पत्र नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ।

मञ्चका प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट र दीर्घकालीन धारणा रहेको उल्लेख गरे। उनले माओवादी केन्द्रले निर्वाचन प्रणालीमा आवश्यक सुधार र परिवर्तनका लागि निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए।

प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका विषयहरू सकारात्मक रहेको भन्दै यस्ता मागहरू केवल सुझावपत्रमार्फत नेताहरूलाई बुझाएर मात्र पूरा नहुने स्पष्ट पारे। परिवर्तनका लागि संघर्ष आवश्यक पर्ने भन्दै उनले भने, “परिवर्तनको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेन्डा सफल हुन्छन्।”

उनले थपे, “मतदाता अधिकार मञ्चको यो पहल सराहनीय छ। तर जनताको माग र अधिकार स्थापित गर्न आवश्यक परे हामी सडक सङ्घर्षमा जान तयार छौं। तपाईँहरू पनि त्यसका लागि तयारी अवस्थामा रहनुहोस्।”

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीको सुधार, प्रतिनिधित्वमा समावेशीकरण, मतदाताको अधिकार सुनिश्चितता लगायतका विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष राखेको थियो।