
प्रधानमन्त्री केपी शर्मा ओलीका भाषण सुन्दा लाग्छ, नेपाली राजनीतिमा कुनै दार्शनिक जन्मिएका हुन्। उनी कहिल्यै रिसाउँदैनन्, कसैप्रति वैरभाव राख्दैनन्, आलोचना सुन्छन् र प्रसन्न चित्त रहन्छन् भनेर घोषणा गर्न सकिन्छ त ? योग, साधना, पवित्र मन, देश सेवा, सुशासन, अनि आलोचनाको सहिष्णुता उनका स्थायी मन्तव्य जस्ता लाग्छन्। तर यही भाषण पछाडिको व्यवहारले कहिलेकहिँ काँडेसहितको लठ्ठी देखाउँछ, कहिले बञ्चरो, कहिले त झन् विद्युतीय आरुसीकन नै ।
ओलीको शैलीले भाषणमा दिव्यताको झल्को दिन्छ। एकपटक सुन्दा लाग्छ, ‘यस्ता नेता त तिर्थस्थलमा मूर्तिसरह पूजा गरिनु पर्ने’। उनी भन्छन्, “म गाली सहन्छु, गाली गर्नेहरूलाई पनि माया लाग्छ।” यो भनाइ सुन्दा लाग्छ—प्रेमयोगका अधिकारी हुन्। तर यथार्थ त्यो ‘मायाको योग’ होइन, ‘सत्ताको भोग’ हो। पत्रकारमाथि साइबर मुद्दा, सामाजिक सञ्जाल प्रयोगकर्तामाथि प्रहरी निगरानी, कलाकारमाथि आक्रोश—यी सब पवित्रताको मुखौटाभित्र लुकेको क्रोधको बाह्यरूप हुन्।
उनले बारम्बार “म देशको लागि काम गर्छु, नपाउँदा पवित्र चाहनासहित बस्छु” भन्छन्। तर देशको लागि भन्ने भाषण बोल्दै गर्दा संसद विघटन गर्ने, आलोचकलाई निष्काशन गर्ने, प्रदेश सरकार र संघीयतालाई कमजोर तुल्याउने, संवैधानिक आयोगहरूलाई निजीकरण गर्ने जस्ता कार्यहरू उनको कार्यसूचीमा सधैं अगाडि हुन्छन्। देशको लागि भन्ने घोषणा अनि लोकतन्त्रमाथि गरिने हमला—यी दुई कुरा सँगसँगै ओलीको व्यक्तित्वमा विचित्र ढंगले बसेका छन्।
विकासका नाममा उनले गरेको घोषणाहरू त नेपाली राजनीतिक ‘मिथक’ बन्न पुगेका छन्। रेल ल्याउँछु, पानीजहाज चढाउँछु, तिनतले पुल बनाउँछु—यी सबले नागरिकलाई उडायो, हसाए, लजायो पनि। जनताले बुझ्न थाले, ओलीको भाषण योजना होइन, कथा हो। योजना भएपनि कागजमा, उद्घाटनमा, वा ‘PowerPoint’ मा सीमित हुने, तर जमिनमै कार्यान्वयन नहुने प्रवृत्तिलाई नागरिकले ‘ओली ब्राण्ड’ विकास भनिरहेका छन्।
पार्टीभित्रकै नेताहरूसँग उनको सम्बन्ध शुद्ध कूटनीतिक प्रतिस्पर्धामा सीमित छैन। उनीसँगको सहकार्यमा आउने नेता धेरैजसो अपमानको पीडासहित बाहिरिए। झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, घनश्याम भुसाल… सबै ओलीको कडा शैलीको शिकार बने। कुनै पार्टी, गठबन्धन वा सरकारमा ओलीसँग सहकार्य गर्नु भनेको, “कसरी हटाइन्छु” भन्ने घडी गन्नु हो।
लोकतन्त्रप्रतिको उनको धारणा सधैं ‘संविधानभन्दा माथि म’ भन्ने भावनाले भरिएको देखिन्छ। संसदलाई दुई–दुई पटक विघटन गर्ने साहस देखाउनु, अदालतको आदेशलाई ‘आदेश मात्रै हो’ भनेर अवज्ञा गर्नु, राष्ट्रपतिलाई ‘आदेश पास गर्ने यन्त्र’ बनाउनु—यी सबै ओली शासनशैलीका प्रतिनिधि व्यवहार हुन्। जसले देखाउँछ, उनी लोकतन्त्रका कुरा भाषणमा गर्छन्, व्यवहारमा तानाशाह प्रवृत्तिको अभ्यास गर्छन्।
उनको एउटा विशेष व्यवहार भनेको आत्म-प्रशंसा हो। “देशमा मबाहेक अरूले केही गरेका छैनन्”, “म हुँदा मात्र काम हुन्छ” भन्ने मानसिकता उनको वाक्यहरूमा बारम्बार दोहोरिन्छ। यो आत्ममुग्धता मात्र होइन, अरूलाई मूल्यहीन बनाउने गुप्त राजनीतिक कुटनीति हो। आलोचकहरूलाई कमजोर देखाउने, समर्थकहरूलाई योद्धा बनाउने, अनि आफूलाई देवतासरह चित्रण गर्ने प्रवृत्तिले उनीभित्रको ‘राजनीतिक महाभाव’ प्रकट हुन्छ।
केपी ओली आफैंलाई ‘अलौकिक योगी’ देखाउँछन्, जसलाई नदुख्ने, नरिसाउने, नगाली लाग्ने जस्ता ‘महान विशेषता’ छ। तर व्यवहारमा उनी पत्रकारलाई “फसाउने”, कार्यकर्तालाई “धम्क्याउने”, नागरिक आवाजलाई “मुट्ठीमा पार्ने” शैलीमा प्रस्तुत हुन्छन्। त्यसैले, ओलीवाद भनेको भाषणमा चन्द्रमा देखाउने, व्यवहारमा बन्चरो चलाउने प्रवृत्ति हो।
नेपाली राजनीति अहिले ओलीवादी शैलीको गहिरो मनोविश्लेषणको खाँचोमा छ। जसले शब्दको शोभा र कर्मको कठोरता बीचको फरक छुट्याउन सक्छ। ओलीले बोलेका वाक्यहरू–”म कसैलाई बुझाउन सक्दिन”, “गाली सहन्छु”, “देशसेवा मेरो धर्म हो”– यी सब सुन्न गजब लाग्छ। तर व्यवहार र नीतिमा ती सब ‘धर्मका मुखौटामा अधिनायक’ सावित हुन्छन्।
ओली शैली अब नेता मात्र होइन, एउटा राजनीतिक प्रवृत्ति बनिसकेको छ। जहाँ जनताका लागि प्रेम भाषणमा सीमित रहन्छ, र सत्ताका लागि कठोर व्यवहार निरन्तर जारी रहन्छ। यसको नाम हो – ओलीवाद।




डा. डक्ट प्रसाद धिताल । १५ असार २०८२, आईतवार १५:१५