
जुम्ला । संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लाको खारेजीविरुद्ध जिल्लामा राजनीतिक दलहरू एकजुट भएका छन्। मन्त्रीस्तरीय निर्णयमार्फत जुम्ला स्थित संघीय कार्यालय हटाई सुर्खेतमा गाभ्ने निर्णय भएपछि जिल्लामा चर्को विरोध भएको हो।
चन्दननाथ नगरपालिकामा जिल्ला समन्वय समितिको आयोजनामा आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो।
बैठकमा सहभागी दलहरुले उक्त निर्णय संघीयताको मर्म र भावनाविपरीत भएको भन्दै कडा आपत्ति जनाए। “विकट र दुर्गम जिल्ला जुम्लाबाट संघीय कार्यालय हटाइनु संविधानको मर्म र जनभावनाको अपमान हो,” उनीहरूको भनाइ थियो।
२०औं योजनाहरु अल्पत्र हुने चिन्ता
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कार्यालय हटाउने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै भने, “संघीयता कार्यान्वयनकै लागि स्थापन गरिएका कार्यालयहरू एकपछि अर्को गर्दै खारेज हुनु दुर्भाग्यपूर्ण छ। यसपालि त आफ्नै भवन निर्माण भइसकेको संघीय खानेपानी कार्यालय हटाउन लागिएको छ। यसबाट जुम्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना समेत अल्पत्र हुने खतरा छ।”
नागरिक स्तरबाट विरोध तीव्र
सामाजिक सञ्जालमार्फत स्थानीय नागरिकहरूले समेत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। जुम्लावासी नागरिक नन्द तिरुवाले भने, “यो मन्त्रीस्तरीय निर्णय संविधानको मर्मविपरीत छ। यो जुम्लावासीको अधिकारमाथिको ठाडो प्रहार हो।”
यता, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका कार्यालय प्रमुख ज्योतिष कुमार मिश्रले भने, “यो निर्णय सरकारको हो, हामी कार्यान्वयनकर्ता मात्र हौं,” भन्दै आफूहरूले निर्देशन पालना मात्र गरेको स्पष्ट पारे।
तालाबन्दी र संघर्षका कार्यक्रम घोषणा
सर्वदलीय बैठकले तत्काल संघीय खानेपानी कार्यालय र मुख्य गेटमा तालाबन्दी गरिएको जानकारी गराएको छ । साथै, आन्दोलनको स्वरूप तय गर्दै केही संघर्षका कार्यक्रमहरू समेत घोषणा गरिएको छ ।
संघीय खानेपानी कार्यालय खारेजी निर्णयविरुद्ध सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र प्रतिनिधिसभा सदस्यमार्फत संसदमा ध्यानाकर्षण गराउने, आवश्यकता अनुसार चरणबद्ध आन्दोलनमा जाने र सम्पूर्ण राजनीतिक दलहरू एकजुट भई जुम्लावासीको अधिकार रक्षा गर्न साझा संघर्ष गर्ने बताएका छन ।
यस्तै स्थानीय सरोकारवालाहरूले संघीयता संरक्षण तथा जनसेवाको सुलभ पहुँचका लागि गरिएको यो आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।



बिहानीको तारा । २९ असार २०८२, आईतवार १५:११