ग्याष्ट्रिकको उपचारमा किन महत्वपूर्ण छ योग ?

ग्याष्ट्रिकलाई हाम्रो गाउँघरतिर गानो भनिन्छ । ग्याष्ट्रिकलाई सबै नेपालीको साझा रोग हो भनेर पनि भन्ने गरिन्छ । किनकि हाम्रो खानपान जीवनशैली सबैको उस्तै छ । अग्रेंजीमा यसलाई ग्यासट्राईटिस पनि भनिन्छ । पेटको भित्रि भाग सुन्निनु नै ग्याष्ट्रिक हो । हाम्रो खराव खानपानले नै ग्याष्ट्रिक गराउँछ । ग्याष्ट्रिक हुँदा ढ्याउ–ढ्याउ डकार आउने,पेट फुल्ने,खाएको खानेकुरा राम्रोसंग नपच्ने,पेट पोल्ने,घाँटीमा केही अड्केकोजस्तो हुने,पेट फुलेको अनुभव हुने,कालो दिशा हुने,खाना खान मन नलाग्नेजस्ता लक्षणहरु देखिन्छन् ।

ग्याष्ट्रिक हुनुको कारणहरुमा बदलिदो जीवनशैली,मनपरी खाने,अत्यधिक तनाव,बढी मदिरासेवन,बढी मसला भएको खानेकुरा खानु जस्ता रहेका छन् । त्यस्तै एन्टीबायोटिक औषधीको बढी प्रयोग, एस्प्रिन, स्टेरोईड आदिको प्रयोगले पनि ग्याष्ट्रिक हुने गर्छ । लामो समय सम्म उपचार नगरेमा यसले अल्सर तथा रक्तश्राव लगायत अन्य जटिल स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छ ।

ग्याष्ट्रिकलाई कसरी निर्मूल पार्न सकिन्छ ?

खानपान र जीवनशैली परिबर्तनले ग्याष्ट्रिकको व्यवस्थापन गर्न सकिन्छ । आजभोलि त जीवनशैलीलाई नै औषधीको रुपमा मानिन थालिएको छ । तर गयाष्ट्रिक निर्मूलको सबैभन्दा उपयुक्त उपचार योग नै मान्न सकिन्छ ।
ग्यासट्राईटिस व्यवस्थापनको लागि निम्न योगहरु गर्न सकिन्छ :

क) श्वास प्रश्वास क्रियाहरु

१. हात बाहिर र भित्र पार्दै गरिने स्वास प्रस्वास स्वास प्रस्वासको साथमा हातलाई मुठ्ठि पारेर बाहिरभित्र घुमाउने :

यसको लागि हातलाई बराबर अगाडि राख्न पनि सकिन्छ र कुमको लाईनमा लगेर दुबैहातलाई दायाँ बायाँ फैलाएर पनि गर्न सकिन्छ । यसमा ध्यानदिनु पर्ने कुरा के छ भने जहिले पनि शरीर खुम्चिदा श्वास छोड्ने तथा शरीर तन्किदा श्वास लिने गर्नु पर्दछ । यो ११ पटकसम्म गर्ने ।

२. हेन्ड स्ट्रेचिङ ब्रेथिङ : यसमा श्वास प्रश्वासका साथमा हातलाई खुम्चाउने र फैलाउने यसका लागि दुबैहातलाई अगाडि कुमको लाईनमा सिधा गर्ने, श्वास भर्ने र फेरि खुम्चाउने अनि श्वास छोड्ने । यो पनि ११ पटक गर्ने ।

३.टाईगर ब्रेथिङ : यसको लागि पहिले घुडा र दुबै हात भुईमा टेक्ने । श्वास तान्दै टाउकोलाई माथि तर्फ लैजाने र श्वास छोड्दै तलतर्फ दुबैहातको बीचमा लैजाने । यो प्रक्रियालाई पनि ११ पटकसम्म गर्न सकिन्छ ।

४.श्वास प्रश्वासको साथमा खुट्टाको पैतला घुमाउने एङ्कल ब्रेथिङ :यसमा दुबै खुट्टालाई भूईमा सिधा पार्ने । दुबै खुट्टाको पैताला घुमाउने । दायाबाट घुमाउने साथमा स्वास प्रस्वासको पनि ध्यान दिने । यसै गरि छ पटक सम्म दायातर्फ बाट घुमाईसके पछि पुन छ पटक बाँया तर्फ बाट पनि घुमाउने।

५.डग बे्रथिङ : यसमा ककुरले जस्तै जिब्रो बाहिर निकालेर छिटो –छिटो श्वास प्रश्वास गर्ने ।

६.स्ट्रेट लेग रेईजिङ ब्रेथिङ : यसमा सबाशनमा सुत्ने अर्थात ढाडको बलले सुत्ने । बिस्तारै स्वास भर्दै दायाँ खुट्टालाई माथी ९० डिग्रीमा उठाउने । फेरि बिस्तारै श्वास फेर्दै खुट्टालाई भूईमा राख्ने । फेरि बाँया खुट्टालाई पनि यसरी नै माथि लिने र तल झार्ने ।

ख) योगिक व्यायमहरु

१.योगिक जगिङ : यसमा योगिक जगिङ गर्दा दायाँ हातले वायाँ खुट्टा र वायाँ हातले दायाँ खुट्टा छुदै गर्ने । फेरि पछाडिबाट खुट्टाको कुर्कुच्चाले हिपमा छुने गरि उफ्रिने। यो ११ पटकसम्म गर्ने ।

२.अगाडि पछाडि झुक्ने :यो प्रक्रियामा सिधा उभिने र दुबै हातलाई हत्केला भित्र पारेर सिधा माथि लाने र शरिरलाई नियन्त्रण गर्दै पछाडि तर्फ झुक्ने । फेरि अगाडि झुक्दै दुबै हातले दुबै खुट्टा छुने । यो पनि ११ पटक सम्म गर्न सकिन्छ ।

३.दायाँ –बायाँ झुक्ने : सिधा उभिने र खुट्टालाई विस्तारै फट्याउने त्यसपछि दुबै हात कम्मरमा राख्ने । कम्मर देखि माथिको भागलाई दाहिने तर्फ झुकाउने र सिधा राख्ने अनि फेरि बाँया तर्फ झुकाउने । यो विधि पनि ११ पटक सम्म गर्न सकिन्छ ।

४.अगाडिबाट खुट्टाको बुढिऔंला छुने : यसमा सिधा उभिने र दाहिने खुट्टालाई घुडा नखुम्चाई सिधा पार्ने अनि बायाँ हातले दाहिने गोडाको बुढिऔला छुने तथा दाहिने खुट्टा भुईमा राख्ने । फेर बायाँ गोडा सिधा पार्ने र दाहिने हातले बायाँ गोडाको बुढिऔला छुने । यो छिटो छिटो पनि गर्न सकिन्छ ।यो १० पटक सम्म गर्न सकिन्छ ।

५.पछाडिबाट कुर्कुच्चा छुने : यसमा दाहिने खुट्टा पछाडिबाट घुमाउने र दाहिने हातले कुर्कच्चा छुने । फेरि दाहिने खुट्टा भुईमा राख्ने फेरि बायाँ खुट्टा माथि ल्याउने बायाँ हातले छुने । यो विधि १० पटक सम्म गर्न सकिन्छ ।

६.कम्मर घुमाउने र सिधा उभिने : यसमा खुट्टालाई उभिन सजिलो हुनेगरी हलुका फट्याउने र उभिने तथा दुबै हात कम्मरमा राख्ने । दाहिने हात दायाँ कम्मरमा र बायाँ हात बायाँ कम्मरमा राख्ने । त्यसपछि बिस्तारै दाया तर्फबाट पाँच पटक र फेरि बायाँ तर्फबाट पाँच पटक कम्मर घुमाउने । यो पनि १० पटक सम्म गर्न सकिन्छ ।

७.सिटअप : यो पनि १ मिनेटमा ११ पटक सम्म गर्ने ।

८.नभाशन अभ्यास : यसमा दुबै खुट्टालाई सिधा माथि पार्ने, हातलाई दुबै खुट्टाको बाहिर पट्टिबाट नछोईकन सिधा राख्ने । यो खासमा डुङ्गा जस्तै आसन हो । अंग्रेजीमा यसलाई बोटपोज भनिन्छ ।

९.पवनमुक्त क्रिया : पवन भनेको वायू हो । यसको नामैबाट पनि थाह हुन्छ पवनलाई मुक्त गराउने क्रिया । यसमा ढाडको बलले सुत्ने अनि दुबै खुट्टालाई माथि उठाउने र घुडा खुम्चाउने । त्यसपछि दुबैहातले घुडालाई कस्ने र श्वास बाहिर फाल्ने, पुनः श्वास तान्ने र खुट्टालाई तल झार्ने । तर यसमा टाउकोलाई उठाउनु हुदैन । केवल खुट्टालाई मात्र अभ्यास गराउने ।

ग) आशनहरु
यसको लागि प्रायःजसो आशनहरु कम्तिमा पनि एक मिनेट सम्म गर्न सक्नु पर्दछ । आशनहरु बिभिन्न तरिकाले गरिने हुन्छन् । खासमा आशनहरुलाई चार भागमा बाडिन्छ ।

१. उठेर गरिने परिवर्त त्रिकोणाशन : यसको लागि सिधा उभिने । दुबै खुट्टालाई आफ्नो क्षमता अनुसार फट्याउने र हातलाई सिधा कुमको लाईनमा दायाँ –बायाँ फैलाउने । बिस्तारै दायाँ तर्फ झुक्ने अनि शरिरलाई बटार्ने, दायाँ हात पछाडिबाट सिधा पार्ने र बायाँ हात दायाँ खुट्टाको एंकलमा राख्ने, टाउकोलाई पछाडिबाट लगेर दायाँ हातको हत्केलालाई हेर्न कोशिस गर्ने । यसो गर्दा पेट बटारिन्छ । यो कम्तिमा पनि एक मिनेट गर्ने । यसमा थप आशनहरु पनि छन् जस्तैः पादहस्ताशन, त्रिकोणाशन, अर्धचक्राशन, कटिचक्राशन, हस्तउत्तानाशन आदि ।

२. बसेर गरिने आशनहरु : जस्तै चक्कीआशन,स्थित कोणाशन, नौकाशन बक्राशन, अर्धमत्र्यन्द्राशन, उस्ट्राशन आदि ।

३. पेटको बलले अर्थात घोप्टो परेर गरिने आसनहरुः त्रियक भुजङ्गाशन, सल्भाशन र यसका भेरियशन, विपरित नौकाशन, धनुराशन,पार्श्वधनुराशन आदि ।

४. उत्तानो परेर अर्थात ढाडको बलले गरिने आसनहरु : अर्धहलाशन, पवनमुक्ताशन पादवृताशन, दुईचक्रीय आशन र सवाशन आदि ।

घ) ग्यासट्राईटिसका लागि लाभदायी केहि प्राणायामहरु निम्न रहेका छन् :

. चन्द्र अनुलोमभिलोम : यसमा बाँया नाखबाट श्वास लिने र दायाँ बाट बाहिर फाल्ने गर्ने ।

२. नाडिसुद्दि : यसमा बाँया नाक बाट श्वास लिने दुबै नाकको प्वाल बन्न गर्ने अनि भित्र रोक्ने । फेरी दायाँ बाट श्वास बाहिर फ्याक्ने, पुनः दायाँ नाको प्वालबाट श्वास तान्ने र भित्र रोक्ने फेरी बाँयाबाट फाल्ने । यो प्रक्रिया पाँच मिनेट जति गर्ने ।
ङ) ध्यान

यसमा अकार उच्चारण त्यसको लागि पहिले गहिरो श्वास तान्ने र विस्तारै अ उच्चारण गर्ने यो अर्थात मुखमा अको ध्वनि निकाल्ने गरी तीन पटक सम्म गर्ने । त्यसपछि उकार तीनमटक सम्म गर्ने । म कार तीन पटक सम्म गर्ने । र अन्त्यमा तीनपटक सम्म ॐकार को उच्चारण गर्ने ।

योग क्रिया हरु

१ .नेति : मनतातो नुनपानीले नाक सफा गर्ने क्रिया

२. बमन धौति : खालिपेटमा मनतातो पानि पिएर उल्टि गर्ने क्रिया

३ .लघुशंख प्रक्षालशन : नुनपानी पिउदै योगासन गर्दै त्यो पानी मलद्वारबाट बाहिर निकाली शरीरलाई सर्भिसिङ अर्थात डिटक्स गर्ने क्रिया ।

यी माथिका योग क्रियाहरु गर्दा आफूसँग राम्रो ज्ञान छ भने सहजै गर्न सकिन्छ । तर यदि योगको राम्रो ज्ञान छैन भने विज्ञहरसँग सुझाव लिएर गर्नुपर्छ । ज्ञान बिना आफुखुशी योग गर्दा स्वास्थ्य जटिलता उत्पन्न भई मानिसको ज्यान समेत जान सक्छ ।