बाँके । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लामा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन्। ११ हजार ७०९ जनाले कार्यालयमार्फत दर्ता गराएका छन् भने ६ हजार ४८६ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम समावेश गराएका छन्।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार कार्यालयमा नाम दर्ता गराउनेमध्ये ६ हजार ८३५ पुरुष र ५ हजार ८७४ महिला रहेका छन्। राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएका मतदातामा महिला–पुरुष छुट्याउने काम जारी रहेको उनले बताए।
शाहीका अनुसार नयाँ मतदाता दर्तामा युवापुस्ताको सहभागिता उत्साहजनक छ। “दर्ता गराउनेमध्ये अधिकांश १८ देखि २५ वर्ष उमेर समूहका छन्,” उनले भने। उनका अनुसार अझै पनि धेरैको नाम छुटेको हुन सक्ने भएकाले दर्ता प्रक्रियामा निरन्तरता दिन आग्रह गरिएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा ३ लाख ३३ हजार ९३४ मतदाता थिए।
आसन्न निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाता दर्तासँगै त्रुटि सच्याउने, स्थान परिवर्तनजस्ता कार्य निरन्तर रूपमा गर्दै आएको छ। बाँकेका आठ स्थानीय तह मध्ये नेपालगञ्ज र कोहलपुर नगरपालिकाबाट सबैभन्दा धेरै नयाँ मतदाता दर्ता भएका छन्।




सन्तोष कुमार बिष्ट । ७ मंसिर २०८२, आईतवार १७:३८