काठमाडौँ । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण देशभर विभिन्न स्थानमा भएका बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनामा कम्तीमा ४० जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ। उक्त प्रदेशको इलाममा मात्र बाढी र पहिरोको कारण २८ जनाले ज्यान गुमाएका छन्। त्यस्तै उदयपुर, खोटाङ र पाँचथर जिल्लामा नौ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन्।
मधेस प्रदेशमा समेत ठूलो मानवीय क्षति भएको छ। रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा एक जना बेपत्ता रहेका छन्।
त्यस्तै बागमती प्रदेशको रसुवामा चार जना बेपत्ता भएका छन् भने काठमाडौँमा एक जना हराइरहेका छन्। यससँगै देशभर बेपत्ता हुनेहरूको संख्या ११ पुगेको छ।
अविरल वर्षाका कारण देशका पहाडी र तराई दुबै क्षेत्रमा जनधनको ठूलो क्षति भएको छ। प्रहरीले उद्धार तथा खोजतलासका कामलाई तीव्र पारेको जनाएको छ।





बिहानीको तारा । १९ आश्विन २०८२, आईतवार १३:३७