दाङ । लुम्बिनी प्रदेश सरकारले जटिल प्रकारका रोग लागेका बिरामीलाई दुई लाख सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि प्रतिबिरामी दुई लाख रुपैयाँ स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रदान गर्दै आएको छ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि जिल्ला स्वास्थ्य कार्यालयको सिफारिस भए हुने ब्यवस्था गरेको छ ।
यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताएका छन् । ‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो, अब सबै काम जिल्ला तहबाटै हुने’ उनले भने ।
बिहानीको तारा । ७ मंसिर २०८१, शुक्रबार १४:०४