नेपालगन्ज उप-महानगरपालिकाले सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट स्थानीय लाभान्वित

सागर भण्डारी

नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा नगरक्षेत्रभित्र सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुबाट स्थानीय सर्वसाधारण लाभान्वित बनेका छन् । उपमहानगरपालिकाको आर्थिक सहयोगमा नगरका २३ वटै वडाहरुमा सञ्चालन गरिएका गरिबीविरुद्ध महिला कार्यक्रमहरु अत्यन्तै सफलतापूर्वक सम्पन्न भएका हुन् । उप-महानगरपालिकाले नगर भित्र रहेका मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति तथा अपाङ्गतासम्बन्धी विभिन्न कार्यक्रहरुमार्फत् गतिविधि सञ्चालन गरेको थियो । नगरभित्र रहेका मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति तथा अपाङ्गगता भएका समुहलाई लक्षित गरि सम्पन्न गरिएका विभिन्न कार्यक्रमहरुबाट सम्बन्धित लाभान्वित बनेका हुन् ।

उपमहानगरले उद्यमी महिलाहरुका लागि बजारीकरण तालिम, महिला संस्थाहरुको सांगठनिक सुदृढीकरण, लैंगिक मुलप्रवाहिकरण कार्यक्रम, मानव वेचविखन तथा ओसारपसारविरुद्धको कार्यक्रम, बालबालिकासम्बन्धी कार्यक्रम, किशोरी लक्षित कार्यक्रम, अपांगतासम्बन्धी कार्यक्रम, महिला उद्यमशीलता प्रवद्र्धन कार्यक्रम, लैंगिक मुलप्रवाहिकरण कार्यक्रम, लैंगिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण कार्यक्रम, गरिबीविरुद्ध महिला कार्यक्रमको निरन्तरता, मानव बेचविखनविरुद्धको कार्यक्रमलगायतका कार्यक्रमहरुबाट सहयोग गरी उनीहरुको जीवनस्तर सुधार गर्नका लागि मुख्य भूमिका निर्वाह गर्दै आएको    छ ।
उप-महानगरपालिकाले लक्षित विपन्न वर्गका महिलाहरुलाई विभिन कार्यक्रममार्फत् सिपमुलक कार्यक्रम सञ्चालन गरी सिप प्रदान गरेर उनीहरुलाई उद्यमशील बनाउनुका साथै विभिन्न प्राविधिक ज्ञान प्रदान गरेर आत्मनिर्भर बनाउनका लागि २३ वटै वडाहरुमा यस प्रकारका कार्यक्रम सञ्चालन गरेको हो ।
प्रत्येक वडाहरुमा महिला संस्थाहरुको संगठित सुदृढीकरण गर्ने र प्रत्येक वडाहरुमा समुह गठन र परिचालन, समिति गठन र परिचालन तथा निगरानी समुह, महिला समुह समितिका लागि अनुशिक्षण कार्यक्रम गरी महिलाहरुको नेतृत्व विकास तथा क्षमता विकास कार्यक्रममार्फत् उनीहरुलाई सक्षम तथा आत्मनिर्भर बनाउन यी कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहेको छ । उप-महानगरपालिकाले लक्षित वर्गका महिलाहरुका लागि सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुमार्फत् उनीहरुले विभिन्न किसिमका सिप सिक्नुका साथै सिकेको सिपलाई उपयोग गर्दै आएका छन् । उनीहरुले कसैले व्यवस्थाय सञ्चालन गरेका छन् भने कोही कोही उद्यमीसमेत बनेका छन् । विभिन्न तालिम र अनुदानमार्फत् आर्जन गरेको सिप र ज्ञानले उनीहरुलाई सरल जीवन जीउनका लागि प्रशस्त मद्दत गरेको छ ।
मनमा केही काम गर्ने दृढ इच्छाशक्ति हुँदाहुँदै पनि आर्थिक अवस्था कमजोर भई काम गर्न नसकेका महिलाहरुका लागि यी कार्यक्रमले अत्यन्तै सहयोग गरेको छ । साथै उनीहरुलाई आत्मनिर्भर बनाएर आर्थिक आयआर्जन हुने अवस्थासमेत सृजना गरेको छ ।
उप-महानगरले विभिन्न वडाहरुमा लक्षित वर्गका महिलाहरुलाई महिला उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत् उद्यमशीलता सचेतना तालिम, नव उद्यमशील महिलाका लागि उद्यमशीलता विकास तालिम, नव उद्यमी महिलाका लागि सिप तथा व्यवसायिकता विकास तालिम, उद्यमी महिलाका लागि बजारीकरणसम्बन्धी तालिम प्रदान गरेको थियो । त्यसैगरी व्यवसाय व्यवस्थापन तालिम, व्यवसाय सर्भेक्षण अनुगमन, व्यक्तिगत सिपका लागि समन्वय, समन्वय बैठक तथा साथ सम्पर्क एवं उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यशालासमेत गरेको थियो ।

त्यस्तै उपमहानगरले लैंगिक मुलप्रवाहिकरण कार्यक्रममार्फत् लैंगिक हिंसा निवारणका लागि निगरानी समुहलाई अनुशिक्षण तालिम, सहिला सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापन कर्मचारी तथा निगरानी समुहका सदस्यहरुलाई समुदायमा आधारित संरक्षण प्रणालीसम्बन्धी तालिम प्रदान गरेको थियो । सासु बुहारीबिच अन्तरपुस्ता अन्तरक्रिया, लैंगिक हिंसा निवारणमा पुरुष सहभागिता प्रवन्धका लागि सशक्तिकरण सहकार्य तालिम, लैंडिक हिंसा निवारणका लागि पुरुष सञ्जाल गठन तथा परिचालन, लैंगिक हिंसा निवारणका अभिलेखिकरणका लागि मार्गदर्शन निर्माण तथा चार प्रकारका फारम, निगरानी किताव समेतको प्रकाशन तथा वितरणसमेतका कार्यक्रमहरु सम्पन्न गरेको थियो ।

गरिबीविरुद्ध महिला कार्यक्रम अन्तरगत सम्भाव्यता अध्ययन तथा सहभागितात्मक लेखाजेखा विधिबाट व्यवसाय छनौट, वडा कार्यालय र महिला विकास समितिसँगको समन्वय बैठक, सिप तथा व्यवसायिकता विकास तालिम, व्यवसाय स्थापना खर्च अनुदान तथा स्थलगत प्राविधिक निरीक्षण तथा परामर्श एवं पुनअभ्यासलगायतका कार्यक्रमसमेत सम्पन्न गरिएका छन् । उप-महानगरपालिकाले विभिन्न लक्षित वर्गका महिलाहरुका लागि सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुमार्फत् सम्बन्धित सरोकारवाला महिला वर्ग अत्यन्तै उत्साही बनेका छन् भने कार्यक्रमबाट आफूहरु लाभान्वित बनेकोसमेत बताएका छन् ।