एमसिसी मुख्यालयद्वारा व्याख्यात्मक टिप्पणीसहितको अनुमोदन स्वीकार

१९ फाल्गुण २०७८ काठमाडाैं

प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन भएको दोस्रो दिन मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी खुसी व्यक्त गरेका छन् । विदेशमन्त्री ब्लिंकेन एमसिसी बोर्डका अध्यक्ष हुन् । एमसिसी मुख्यालयले पनि मंगलबारै विज्ञप्तिमार्फत अनुमोदित सम्झौता स्वीकार गरिएको भन्दै कार्यान्वयन हुने जनाउ दिएको छ ।

प्रधानमन्त्री देउवासँग अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपाली समयअनुसार मंगलबार राति टेलिफोन गरेका थिए । देउवाले बुधबार ट्विटरमार्फत टेलिफोन संवादको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्‍यौँ ।’

अमेरिकी विदेश मन्त्रालयका अनुसार नेपालको संसद्ले एमसिसी पारित गरेकोमा खुसी व्यक्त गर्दै ब्लिंकेनले युक्रेनमा भएको रुसी आक्रमण र कोभिड– १९ पछि अर्थतन्त्र पुनरुत्थानका विषयमा पनि छलफल गरेका छन् । ‘विदेशमन्त्री ब्लिंकेनले संयुक्त राज्य अमेरिका र नेपालको कूटनीतिक सम्बन्ध ७५ वर्ष पुगेको उल्लेख गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनामार्फत नेपाली जनताको रोजगारी, पूर्वाधार र जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभाको बहुमतले १२बुँदे व्याख्यात्मक घोषणासहित ५० करोड अमेरिकी डलरबराबरको एमसिसी अनुदान सम्झौता पारित गरेको थियो ।

… …

१२बुँदे व्याख्यात्मक घोषणासहित नेपालको संसद्ले अनुमोदन गरेको एमसिसी अनुदान सम्झौतालाई अमेरिकाले स्वीकार गरेको छ । व्याख्यात्मक घोषणालाई लिएर विभिन्न आशंका जारी रहँदा एमसिसी मुख्यालयले यसलाई स्वीकार गरेको हो ।

एमसिसी मुख्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा प्रमाणित गरेको छ ।’ आइतबार संसद्ले १२बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौतालाई अनुमोदन गरेको थियो ।

अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ । ‘सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ । परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा छ । विद्युत् र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको बुझाइ छ ।

नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्ध सम्झिँदै एमसिसीले यसबीचमा नेपालमा भएका विकास सहायता, प्रकोपको उद्धार, सहायता, स्वास्थ्य र शिक्षासँग सम्बन्धित कार्यक्रममार्फत अमेरिकी सरकार र जनता नेपालसँगै उभिएको जनाएको छ । ‘अमेरिकाको नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा माथि छ, हामी लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक सम्पन्नताका लागि नेपाललाई निरन्तर सहयोग गर्नेछौँ,’ एमसिसीले भनेको छ । एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ । साभार नयाँ पत्रिका बाट