गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी

१५ बैशाख २०७९ भैरहवा । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ। दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो। यसअघि जहाज रनवेबाट फर्किन सकेको थिएन। तर केही समयमै फर्काइएको थियो। विमानस्थल पुगेपछि जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो। अहिले जहाजबाट ओर्लिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव लगायतलाई स्वागत गरिएको छ। उनीहरूलाई खादा, माला लगाएर विमानस्थल प्रशासनले स्वागत गरेको छ। प्रशासनिक भवनको छतमा जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका थिए।

जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता दुई सय ७४ छ। जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको हो।नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट परीक्षण उडान गरेको हो।

नेपालकै एक ठाउँबाट अर्को अहिलेसम्म ठूला जहाज उडान/अवतरण गरिएको थिएन। काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान/अवतरण गर्नेछन्। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ।सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले केही समय अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।