प्रधानमन्त्रीको दौडमा म छैन : प्रचण्ड

२४ भदौ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने आरोपमा सत्यता नरहेको प्रचण्डको भनाइ थियो । आफू प्रधानमन्त्रीको दाैडमा नरहेको र निर्वाचनपछि मत परिणामको आधारमा प्रधानमन्त्रीको टुंगो लाग्ने प्रचण्डले बताए ।

पोखरा पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै आज भोलि नै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताए ।

प्रचण्डले विभिन्न जिल्लाबाट निर्वाचन लड्न प्रस्ताव गरिए पनि आफू चितवनबाटै निर्वाचन लड्ने बताए । चितवनका जनताको चेतना र भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डले बताए ।

प्रचण्डले नागरिकता विहिन ७ लाख नेपाली नागरिकलाई वंशजका आधारमा नागरिकता दिन नागरिकता विधेयकमा हतार गरिएको बताए । बैबाहिक अंगिकृतको हकमा सात वर्षे प्रावधानमा आफ्नो अडान कायमै रहेको उनले बताए । प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका लागि अब राष्ट्रपतिसँग यताउता गर्ने अधिकार नभएको बताए । उनले भने, ‘दोस्रोपटक पनि प्रमाणीकरण गर्नुभएन भने अदालत जाने या राजीनामा गर्नुपर्ने हुन सक्छ । राष्ट्रपतिलाई संविधानले दोस्रोपटक फिर्ता गर्न सक्ने व्यवस्था छैन ।