कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन स्थानीय समितिलाई दिने

२५ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने भएको छ । ३० वैशाख २०७९ मा हुने स्थानीय तहको चुनावका लागि कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान घोषणा गरेको छ । घर घर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको अभियानका लागि केन्द्रीय सदस्यहरु खटाइएको छ । भंग गरिएका १० भ्रातृ संस्थामा तदर्थ समिति छिट्टै गठन गरी निर्वाचनमा परिचालन गरिने उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

कांग्रेसलाई चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको दबाव छ । कांग्रेसमा भने स्थानीय चुनावमा तालमेल गर्न नहुने मत बढी छ । तर एक महिने अभियानको क्रममा चुनावी तालमेलबारे कांग्रेस मौन बस्ने भएको छ । कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र तयार पार्ने जिम्मा स्थानीय समिती लाई नै दिने भएको छ । पार्टीको उम्मेदवार विजयी भएमा पाँच वर्षमा गर्ने कामको योजनासहित हरेक स्थानीय तहको कमिटीले चुनावी घोषणा पत्र बनाउनुपर्नेछ ।