
मधुवन। बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिका वडा नं. ७ शुक्रबस्ती र गंगाबस्तीमा संयुक्त अनुगमन गरिएको छ ।
परियोजनाका गतिविधिहरूको प्रगति तथा समुदायस्तरमा परेको प्रभावको मूल्याङ्कन गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको क्लबले जनाएको छ ।
अनुगमनका क्रममा मानव बेचबिखन, लागुऔषध दुव्र्यसन तथा बाल संरक्षणसम्बन्धी विषयमा अभिभावकहरूको सचेतना, सोच र व्यवहारमा आएका परिवर्तनहरूको समीक्षा गरिएको थियो । साथै, अभिभावकहरूबाट अनुभव, सकारात्मक अभ्यास, विद्यमान चुनौती तथा आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक सुझावहरू सङ्कलन गरिएको थियो ।
अनुगमन टोलीमा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रबक्ता मेकबहादुर गुरुङ, वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमाल, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, बाँके युनेस्को क्लबका सह अध्यक्ष निरज गौतम, कार्यकारी निर्देशक रविकुमार तुलाधर, सल्लाहकार रुद्र सुवेदी, सदस्य शंकर सिंह थारु, परियोजना संयोजक ईश्वर बी.के. तथा फिल्ड सुपरभाइजर सबित्रा भाटको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा अभिभावक समूहसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै परियोजनाका गतिविधिहरूबाट परिवार तथा समुदायमा आएका परिवर्तनबारे जानकारी लिइएको थियो । अभिभावकहरूले मानव बेचबिखन, लागुऔषध दुव्र्यसन, बाल संरक्षण तथा जोखिमका घटनाबारे जानकारी गराउने र आवश्यक सहयोग प्राप्त गर्ने प्रक्रियासम्बन्धी आफ्नो बुझाइमा सुधार आएको अनुभव साझा गरेका थिए । उनीहरूले परिवार तथा समुदायमा अपनाइएका सकारात्मक अभ्यासहरू प्रस्तुत गर्दै विद्यमान चुनौतीहरू र थप प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका थिए ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले मानव बेचबिखन तथा लागुऔषध दुव्र्यसन नियन्त्रण र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय सरकार, विकास साझेदार, समुदाय तथा अभिभावकबीच समन्वयात्मक र निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सुरक्षित समुदाय निर्माणका लागि सचेतनामूलक अभियानलाई निरन्तरता दिनुका साथै समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, नगर उपप्रमुख अनिता चौधरीले बाल संरक्षण तथा हानिकारक सामाजिक अभ्यासहरूको रोकथाममा अभिभावकको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमालले बाँके युनेस्को क्लब तथा सुरक्षा परियोजनाको कार्यान्वयनको उच्च प्रशंसा गर्दै समुदायमा सचेतना अभिवृद्धि गर्न परियोजनाले पु¥याएको योगदानको सराहना गर्नुभयो ।
महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनाराले समुदायमा निरन्तर सचेतना अभिवृद्धि, संरक्षणसम्बन्धी घटनाको समयमै जानकारी गराउने व्यवस्था तथा सम्बन्धित सेवा प्रदायक निकायहरूसँग प्रभावकारी समन्वयको महत्वमाथि प्रकाश पार्नुभयो।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बी.के.ले गर्नुभएको थियो । संयुक्त अनुगमन भ्रमणले समुदायस्तरमा परियोजनाको प्रगति तथा प्रभावको समीक्षा गर्नुका साथै स्थानीय सरकार र कार्यान्वयन साझेदारबीचको समन्वय सुदृढ गर्न र आगामी कार्यक्रमका प्राथमिकताहरू पहिचान गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।
भ्रमणले मानव बेचबिखन तथा लागुऔषध दुव्र्यसनको रोकथाम गर्दै बालबालिकाको अधिकार, मर्यादा र कल्याण सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता, समुदायको स्वामित्व र निरन्तर सहकार्यको आवश्यकतालाई पुनः पुष्टि गरेको छ ।




सन्तोष कुमार बिष्ट । १४ कार्तिक २०८३, शुक्रबार १२:५२