बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँचदिने प्रशिक्षक तालिम सुरु


बर्दिया। सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्ड सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोजीमा सुरु भएको छ ।

बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित उक्त तालिममा बर्दिया जिल्लाका तीन स्थानीय तहका २१ जना युवा स्वयंसेवकसहित साझेदार संस्थाका प्रतिनिधिहरू गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

तालिमको मुख्य उद्देश्य युवाहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्दै सार्वजनिक सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन, नागरिक सहभागिता र समुदायस्तरमा सामाजिक जवाफदेहिता प्रवद्र्धन गर्नु हो । युवाहरूलाई सेवा प्रदायक निकाय तथा स्थानीय सरकारसँग रचनात्मक संवाद र सहकार्य गर्न सक्षम बनाउँदै सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्नु यस पहलको प्रमुख लक्ष्य रहेको छ ।

तालिमको उद्घाटन सत्रमा सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले युवा नागरिक स्कोर कार्डको अवधारणा, महत्त्व तथा कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्नुभयो ।

त्यसैगरी, प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ झलकमान विश्वकर्माले सुरक्षित भविष्य परियोजनाका प्रमुख उद्देश्य तथा बालबालिका, किशोरकिशोरी र युवाहरूको अधिकार संरक्षण, बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण एवं गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि भइरहेका प्रयासहरूबारे जानकारी गराउनुभयो ।

हेन्डस नेपालका युवा सशक्तीकरण परियोजना संयोजक रोशन तिमिल्सिनाद्वारा सहजीकरण भइरहेको तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको छ । सहभागीहरूले तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सार्वजनिक सेवा गुणस्तर मूल्याङ्कन, सामुदायिक परामर्श, समूहगत छलफल, सार्वजनिक सेवासम्बन्धी मापदण्डको पहिचान तथा प्रमाणमा आधारित सुझाव तयार गर्ने सीप सिक्नेछन् ।

तालिम सम्पन्न भएपछि युवा स्वयंसेवकहरूले सिकेका ज्ञान तथा सीपलाई आ–आफ्नो समुदायमा प्रयोग गर्दै सार्वजनिक सेवा प्रवाहको मूल्याङ्कन गर्ने, समस्या तथा चुनौतीहरू पहिचान गर्ने, सम्बन्धित निकायलाई प्रमाणमा आधारित सुझाव दिने र सेवा सुधारका लागि संवाद तथा सहकार्य सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।

सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको छ । स्थानीय सरकार, विद्यालय, समुदाय, युवा समूह तथा अन्य सरोकारवालासँगको सहकार्यमा परियोजनाले बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण, बाल संरक्षण सुदृढीकरण, गुणस्तरीय शिक्षा प्रवद्र्धन तथा किशोरकिशोरी र युवाहरूको सशक्तीकरणमार्फत सुरक्षित, समावेशी र जवाफदेही समुदाय निर्माणमा योगदान पुर्‍याउँदै आएको छ ।