६ भादाै २०७९ जुम्ला । जुम्लामा छायाङ्कन भएकाे नेपाली कथानक चलचित्र ‘प्रकाश’को प्रिमियर शो जुम्लामा हुने भएकाे छ । आगामी शुक्रबार अर्थात भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो जुम्लाको पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो । झण्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र बैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाँकन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदिप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला आइपुगेका छन् ।
आईतबार पत्रकार भेटघाटमा नायक प्रदिप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुन हुने बताए । “अक्सर चलचित्रको वल्र्ड प्रिमियर शो काठमान्डौका महंगा हलहरूमा रेडकार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बिच गर्ने चलन छ । तर चलचित्रमा जुम्लाकै परिबेश समेटीइको फिल्म भएकोले प्रकाशको वल्र्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौ ।
जुम्लाको एक यूवाले शिक्षक बन्न गरेको संघर्ष,हुदाँ खाने र हुने खाने बीचको भेदभाव,जुम्ली भाषा साहित्य संस्कृती तथा रहन सहनको संरक्षण प्रर्बद्धनको विषयले चलचित्रले जोड दिएको लेकख विकास सुवेदीले बताए । उनका अनुसार जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँमा वल्र्ड प्रिमियर गरिएको हो ।
राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओजेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन,बिम्बात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । भने,राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । साथै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार,धनराज सुनार,पुर्ण प्रसाद चौलागाई,राजकली महत लगायतले चलचित्रमा अभिनय गरेका छन् ।
बिहानीको तारा । ६ भाद्र २०७९, सोमबार १०:५०