किशोर श्रेष्ठ साइबर ब्युरोमा, हिमेश पन्तसँग छलफल गराउने तयारी

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले छलफलका लागि कार्यालय लगेको छ। ब्युरोको टोली शनिबार बिहान नख्खुस्थित उनको निवास पुगेको थियो।

साइबर ब्युरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा आफूलाई ‘हत्यारा’, ‘बलात्कारी’ र ‘ब्ल्याकमेलिङ गर्ने व्यक्ति’ भन्दै लेखेको आरोपसहित निवेदन दिएका छन्।

श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएका छन्। दुवै पक्षलाई राखेर छलफल गराउने तयारी भइरहेको ब्युरो स्रोतले जनाएको छ।

यसअघि गत साउन २७ गते काठमाडौं प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई उनको निवासबाट ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री बरामद गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि उनी भदौ १ गते हिरासतबाट मुक्त भएका थिए।

दुवै पक्षका निवेदनमाथि साइबर ब्युराले अघि बढाउने थप प्रक्रिया भने सार्वजनिक हुन बाँकी छ।