खजुरा गाउँपालिकाले ८५ करोड ७२ लाखको बजेट सार्वजनिक

१७ औं गाउँसभाबाट आर्थिक वर्ष ०८२/८३ का लागि बजेट प्रस्तुत

खजुरा । खजुरा गाउँपालिकाको १७ औं गाउँसभाबाट आर्थिक वर्ष २०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले सभा समक्ष बजेट प्रस्तुत गर्दै चालु र पुंजीगत खर्चका विवरण सार्वजनिक गरिन्।

बजेट विवरण अनुसार चालु खर्चतर्फ ६८ करोड १२ लाख ५९ हजार ३७१ रुपैयाँ र पुंजीगत खर्चतर्फ २७ करोड ५९ लाख ७२ हजार १९० रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी, विकास खर्चका लागि ३८ करोड १६ लाख ३१ हजार ५७१ रुपैयाँ प्रस्ताव गरिएको छ।

उपाध्यक्ष मल्लले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को आन्तरिक आम्दानीतर्फको लक्ष्य ३ करोड रुपैयाँ भए पनि जम्मा १ करोड ८१ लाख रुपैयाँ मात्र संकलन भएको जानकारी दिइन्। त्यस्तै, सोही वर्षको कुल बजेट ७८ करोड ९२ हजार ७५५ रुपैयाँ ५७ पैसामध्ये ६७ करोड ५२ हजार १९५ रुपैयाँ ६१ पैसा प्राप्त भएको बताउँदै कुल बजेटको ८५.८९ प्रतिशत रकम संकलन भएको उल्लेख गरिन्।

उनले चालु वर्षको बजेटको ९० प्रतिशत खर्च हुने अनुमान गरिएको जानकारी दिँदै त्यसअनुसार गाउँपालिकाको ध्यान केन्द्रित रहेको बताइन्। स्रोत र साधनको प्रभावकारी प्रयोगमार्फत समावेशी, दिगो र परिणाममुखी विकास हासिल गर्न गाउँपालिका प्रतिवद्ध रहेको उनले स्पष्ट पारिन्।

बजेट प्रस्तुतिका क्रममा उपाध्यक्ष मल्लले आगामी वर्षलाई चुनौतीपूर्ण मान्दै, स्रोतको समुचित परिचालन र पारदर्शी खर्च व्यवस्थापनमा पालिका गम्भीर रहेको धारणा व्यक्त गरिन्।