स्थानीय पूर्वाधार विकासमा बेलायती साझेदारी : खजुरा गाउँपालिकामा LISP कार्यक्रमले दिलायो नयाँ गती

खजुरा ।  स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) अन्तर्गत बेलायती सरकारको साझेदारी र खजुरा गाउँपालिकाको सहकार्यमा विभिन्न दीर्घकालीन विकास योजनाहरु कार्यान्वयनमा ल्याइएका छन्। नेपाल सरकार र बेलायत सरकारबीचको समन्वयबाट सञ्चालित यो कार्यक्रमले स्थानीय तहको समावेशिता, पारदर्शिता र दिगोपनालाई सुदृढ गर्दै आएको छ।

हालै सम्पन्न अनुगमन तथा छलफल कार्यक्रममा बेलायती दूतावासका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय निकायका पदाधिकारीहरूको उपस्थितिले कार्यक्रममा उच्च महत्व थपेको छ।

यस वर्षको सुरुवातसँगै गाउँपालिकामा पाँचवटा योजना सञ्चालनमा ल्याइएको छ। जसमा वडा नं. ८ मा सडक कालोपत्रे कार्यका लागि पालिकाले ९ लाख १ सय ९८ रुपैयाँ ५१ पैसा, र बाँकी ८०% रकम LISP मार्फत विनियोजन गरिएको छ।

वडा नं. ४ मा किरन भवानी मन्दिरदेखि बुद्धपुर हुँदै जानकी गाउँपालिका जोड्ने सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। कुल लागत ५२ लाख २४ हजार ५ सय १३ रुपैयाँ ४६ पैसा रहेको यस योजनामा पनि २०% स्थानिय र ८०% LISP लगानी रहेको छ।

वडा नं. ६ मा कृषि प्रणाली सुधारका लागि ३८ लाख २७ हजार ८ सय ८७ रुपैयाँ ४६ पैसा बजेट विनियोजन गरिएको छ भने वडा नं. ३ मा शरन कर्मचारीको घरदेखि स्कुल जोड्ने सडक स्तरोन्नति कार्यको कुल लागत ३८ लाख ३७ हजार ३ सय ३ रुपैयाँ ८१ पैसा रहेको छ।

यस्तै, वडा नं. ७ मा नेपालगञ्ज–गुलरिया सडक खण्ड हुँदै गोदाहना जोड्ने सडकको नहर निर्माण कार्य चलिरहेको छ। यसमा ३५ लाख ३५ हजार ३ सय ८ रुपैयाँ ८५ पैसा बजेट छुट्याइएको छ।

साथै, बाँकी बजेटको उपयोग गर्दै वडा नं. २ को सी गाउँको सडक, वडा नं. ३ मा सपना रसाइलीको घरदेखि आदर्श मा.वि. सम्मको सडक तथा वडा नं. ८ मा ग्रामीण सडक स्तरोन्नतिमा समेत बजेट विनियोजन गरिएको छ। ADB तथा पालिकाको सहयोगमा यी कार्यहरू भइरहेको छन्।

कुल ३ करोड ९ लाख ९० हजार ८ सय ५ रुपैयाँ ८९ पैसाको योजनामार्फत खजुरा गाउँपालिका पूर्वाधार विकासमा जुटेको छ। योजनाको प्रत्येक चरणको प्रगति अनलाइन डाटामा अद्यावधिक गरिएको छ।

स्थानीय पूर्वाधार योजनालाई थप व्यवस्थित र पारदर्शी बनाउन गाउँपालिकाले २०८१ मंसिर ७ गते कार्यपालिकाबाट ६ वटा कार्यविधि पास गरेको छ। जसमा मर्मत संभार, गुनासो व्यवस्थापन, प्राविधिक परीक्षण, उपभोक्ता समिति गठन, अनुगमन लगायतका विधिहरू समावेश छन्।

यसअघि पनि पालिकाले विकास योजनाहरूको अवलोकन गरी आवश्यक सुधारको खाका तय गरिसकेको बताइएको छ ।

यस्तै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले योजनाहरुको स्थलगत अनुगमन गरिएको थियो ।