खजुरास्थित पेडारी नालामा पक्कि पुल बन्ने

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क तुफानले सङ्घीय अर्थ मन्त्रालयले खजुराको पेडारी नालामा पक्कि नालामा चारलेन पुल निर्माणका लागि बजेट स्वीकृत गरेको जानकारी दिए ।  उनले भने धेरै प्रयास पछि पुल निर्माण कार्यको लागि बजेटको सुनिश्चतता भएकोले अब खजुरामा साँघुरो पुल चारलेनको पक्की पुल निर्माण हुने भएकाे अब सहज हुने बताए ।

उनका अनुसार, “अर्थ मन्त्रालयले नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका पर्ने पेडारी नाला र चपरा नालामा  पुल निर्माणका लागि बजेट विनियोजन भएको बताए ।“

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि अब केही दिनमा टेण्डर आव्हान गरि काम सुरु हुने जानकारी दिए । प्रमुख भण्डारीले भने, “लामो समयदेखि माग गर्दै आएको योजना यसपटक स्वीकृत भएको छ, अब केही दिनमा निर्देशनालयबाट टेण्डर आह्वान भई काम सुरु हुन्छ ।“ खजुरामा ७ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भएपनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ ।

पेडारी नालामा नयाँ पुल २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको हुने छ । पुलको लागत १२ करोड बढि छ । पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण वर्षायाममा खोलामा बाढी आउँदा पटकपटक सवारी आवागमन प्रभावित हुने गरेको छ ।