पहल के.सी. नेपालगञ्ज । साइनिङ अस्पताल, आइएनएफ नेपाल बाँकेको सामाजिक परीक्षण तथा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक नेपालगञ्जमा सम्पन्न भएको छ। विभिन्न सरकारी निकाय, स्वास्थ्य संस्था, स्थानीय तह तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागितामा बुधबार बैठक सम्पन्न भएको हो।
बैठकमा साइनिङ अस्पताल नेपालगञ्जका प्रमुख मङ्गल बहादुर थारुले अस्पतालको वार्षिक प्रगति विवरण तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी गराउनुभएको थियो। उहाँले कुष्ठरोग निवारण तथा उपचारका क्षेत्रमा आइएनएफले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अस्पतालले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
प्रमुख थारुका अनुसार गत आर्थिक वर्षमा सात स्थानमा कुष्ठरोग खोज तथा पहिचान शिविर सञ्चालन गरिएको थियो। ती शिविरबाट १६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए। आर्थिक वर्ष २०८२/८३ मा गरिएको सर्वेक्षणअनुसार १९३ जना नयाँ कुष्ठरोगी फेला परेका छन्।
खजुरा रोडस्थित अस्पतालमा बाँके, बर्दिया, दैलेख, दाङ, डोल्पा, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा भारतबाट समेत बिरामी आएर उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो।
अस्पतालमा २५ शय्या रहेका छन्। गत आर्थिक वर्षमा १४८ जना बिरामी भर्ना भएका थिए, जसमा १०६ जना पुरुष र ४२ जना महिला रहेका छन्। अस्पतालको शय्या उपयोग दर ५१ प्रतिशत र बिरामीको औसत बसाइ अवधि २९ दिन रहेको प्रतिवेदनमा उल्लेख छ। उपचारपछि १५६ जना बिरामी डिस्चार्ज भई घर फर्किएका छन्।
बैठकमा प्रमुख थारुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ मा कुष्ठरोग तथा क्षयरोगजस्ता विशिष्ट सेवा प्रदान गर्ने अस्पतालको दर्ता तथा नवीकरणसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा समस्या भोग्नुपरेको गुनासो गर्नुभयो। अस्पताल दर्ता तथा नवीकरणका लागि स्थानीय तह र प्रदेश सरकारमा पटक–पटक फाइल पेस गर्दा पनि कठिनाइ भइरहेको उल्लेख गर्दै उहाँले यस विषयमा सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक सहजीकरण तथा सहयोगका लागि आग्रह गर्नुभयो।
बैठकमा अस्पतालको प्रगति विवरणमाथि सहभागीहरूले विभिन्न सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए। आगामी दिनमा अस्पतालको सेवा प्रभावकारिता अभिवृद्धि, कुष्ठरोग नियन्त्रण तथा निवारण र संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सबैले हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अस्पतालको आर्थिक गतिविधिसम्बन्धी विवरण लेखा अधिकृत लोकेन्द्र रोका क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो।
बैठकमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सुनिता कार्की, भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नाल, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरी, खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकाल, जानकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अन्सारी, स्वास्थ्य शाखा प्रमुख दलबहादुर राणा, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेल, जिल्ला कुष्ठरोग फोकल पर्सन मानव नेपालीलगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।




बिहानीको तारा । १० मंसिर २०८३, बुधबार १४:४३