१६ वैशाख २०७९ काठमाडौं । १० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिममा १४ जना नयाँ खेलाडी थपेर प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षक अल्मुताइरीकै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको भन्दै १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेन गरेर आफ्नो धारणा राखेका थिए । त्यही समयमा प्रशिक्षक अल्मुताइरीले भने नयाँ खेलाडी थप गरेर बन्द प्रशिक्षण जारी राखेका छन् ।
अल्मुताइरीले १४ नयाँ खेलाडी थप गरेका प्रशिक्षणलाई जारी राखेका छन् । उता १० खेलाडीले भने प्रशिक्षकले नै आफूहरुलाई छाड्ने बाध्य पारेको भन्दै अब फेरि उनै प्रशिक्षकमातहत खेल्न गाह्रो हुने अभिव्यक्ति दिइसकेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुले बन्द प्रशिक्षण छाडेको र नयाँ खेलाडीहरु समावेश भएको बारे अहिलेसम्म आधिकारिक केही सार्वजनिक गरिसकेको छैन । तर बन्द प्रशिक्षणका अवसर एन्फाले नै सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोमा भने विशाल सुनार, अभिषेक बराल, सेसेहाङ आङदम्बे, जर्जप्रिन्स कार्की, शिव गुरुङ, आकाश बुढा मगर, विकास खवास, सुशील राई, राजन गुरुङ, सन्जोग राई लगायत खेलाडी उपस्थित रहेको देखिन्छ । त्यसअघि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले सुविधाको कुरा उठाउँदा प्रशिक्षक नै ‘छाडेर जा’ सम्म भनेको भन्दै छाडेको कुरा सार्वजनिक गरिसकेका छन् ।
बुधबार साँझ खेलाडीले बन्द प्रशिक्षण छाडेको खबर सार्वजनिक भएपछि माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरणकुमार लिम्बुले पनि प्रशिक्षकको व्यवहारप्रति असन्तुष्टी जनाउँदै खेलाडी साथ दिएका थिए । किरणसहित अहिलेसम्म ११ खेलाडी प्रशिक्षकको विपक्षमा देखिएका छन् । एसियन कप छनवटको तयारीका लागि अल्मुताइरीले सुरुमा २५ खेलाडी बोलाएका थिए । त्यसमध्ये डिफेण्डर देवेन्द्र तामाङ भने पारिवारिक कारण बन्द प्रशिक्षणमा उपस्थित भएका छैनन् । किरण माल्दिभ्समा छन् ।
बाँकी २३ खेलाडी प्रशिक्षणमा थिए । त्यसमा १० जनाले छाडेपछि पुराना १३ खेलाडी बाँकी रहे । प्रशिक्षकले १४ नयाँ खेलाडी थप गरेपछि अहिले प्रशिक्षणमा २७ खेलाडी छन् । त्यसमध्ये कति खेलाडी बिहीबार प्रशिक्षणमा उपस्थित थिए भन्ने एकिन छैन । एन्फाले पनि खेलाडीको नाम सार्वजनिक गरेको छैन । प्रशिक्षणबाट बाहिर रहेका १० खेलाडीले भने एन्फासमक्ष यस विषयमा स्पष्ट छानविनको माग समेत गरेको छ । बुधबारै १० खेलाडीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई भेटेर यसबारे छलफल गरेपछि एन्फा चुनाव नजिक आइरहेकोल आफूले प्रशिक्षकका बारेमा केही गर्न नसक्ने प्रतिक्रिया दिएको खेलाडीहरुले पत्रकार सम्मेलनमा बताएका थिए ।
सुरुको बन्द प्रशिक्षणमा बोलाइएका २५ खेलाडी- किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ, विशाल राई बन्द प्रशिक्षणमा यथावत- दीप कार्की, एरिक विष्ट, आयुश घलान, विकास खवास, दर्शन गुरुङ, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल, सुनील बल, सुरजज्यू ठकुरी
बन्द प्रशिक्षणमा अनुपस्थित- देवेन्द्र तामाङ र किरणकुमार लिम्बु (विदेश)
बन्द प्रशिक्षण छाड्ने- विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राई बन्द प्रशिक्षणमा थपिएका खेलाडी- विशाल सुनार (गोलरक्षक), अभिषेक बराल (गोलरक्षक), सेसेहाङ आङदेम्बे, जर्जप्रिन्स कार्की, शिव गुरुङ, आकाश बुढा मगर, सुशील राई, राजन गुरुङ, सन्जोग राईलगायत
बिहानीको तारा । १६ बैशाख २०७९, शुक्रबार १४:०३