भारतीय विदेशमन्त्री जयशंकर नेपाल आइपुगे


१९ पुस २०८० काठमाडौँ । भारतीय विदेश मन्त्री एस.जयशंकर नेपाल आइपुगेका छन् । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन् । भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट बिहान ९ः३० मा नेपाल आइ पुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्र मन्त्री एनपी साउद आफै पुगेका थिए । ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् ।

त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम हुनेछ । २ बजे परराष्ट्र मन्त्रालयले याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने बताइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६ः१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटलमा रात्रि भोजको आयोजना गर्नेछ । सो रात्रि भोजमा मन्त्री जयशंकर लगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ । उनको साथमा विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारी समावेश रहेका छन् ।