जानकी–५ बेलहारीमा निःशुल्क स्वास्थ्य शिविर, १६० जनाले पाए सेवा

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५, बेलहारीस्थित वडा कार्यालय परिसरमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमार्फत १६० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। ७ महिनादेखि ८५ वर्ष उमेर समूहका सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको हो।

शिविरमा उपचारका लागि आउनेमध्ये करिब ६० प्रतिशत बिरामी कानसम्बन्धी समस्या भएका रहेका छन् भने बाँकी नाक, घाँटी तथा सामान्य रोगका बिरामीको समेत स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन्।

शिविरको उद्घाटन वडा अध्यक्ष टिकानाथ यादवले आफ्नै कान परीक्षण गर्दै गरेका थिए। उनले गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराएकोमा असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रप्रति आभार व्यक्त गरे।

शिविर सञ्चालनमा जानकी गाउँपालिकाको स्वास्थ्य शाखाका लवकुश यादव र श्रवणकुमार यादवले सक्रिय भूमिका निर्वाह गरेका थिए। वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश बसेल, सहायक चिकित्सक दुर्गेश यादवसहितको टोलीले स्थानीयलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो।

नेपालगन्ज–१० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र स्वास्थ्य सेवाको पहुँच नभएका गरीब, उपेक्षित र असहाय समुदायका लागि निरन्तर रूपमा काम गर्ने संस्था हो। स्वास्थ्य सेवा लिन आएका स्थानीयले घरमै आएर गुणस्तरीय सेवा दिएको भन्दै निकै खुशी व्यक्त गरेका छन्।