कांग्रेस पनि कर्णाली प्रदेश सरकारमा सहभागी, नवनियुक्त चार मन्त्रीले लिए शपथ

७ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । मुख्यन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका ३ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले बिहीबार उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।यसअघि बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन । कांग्रेस भित्रको विवादका कारण कांग्रेसको केन्द्रीय नेतृत्वको दबावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए । यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले मन्त्रीमा दाबी गरिरहेका थिए ।

तर मंगलवार कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेपछि विवाद भएर शपथ रोकिएको थियो । कांग्रेस संसदीय दलका नेता शाहीको निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेपछि उनीहरुले शपथ गरेका हुन् ।