गाभर पार्कमा कतार च्यारिटी र बाँके युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

२७ चैत २०७९ नेपालगञ्ज। बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् ।
हस्तान्तरण कार्यक्रमको आयोजना गरेर पार्क परिसरमा निर्माण गरिएका पुरुषका लागि २, महिलाका लागि १ र अपाङ्गता भएका व्यक्तिका लागि १ गरि चारवटा शौचालय बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले संयुक्त रुपमा पार्कका अध्यक्ष युवराज शाह, वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्ल र गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरीलाई हस्तान्तरण गर्नुभयो । निर्माण गरिएका शौचालयमा पानी तान्नको लागि मोटर, हाते पम्प र शौचालयमा पानी आपूर्तिका लागि प्लाष्टिकको ट्यांकी र चारवटा हात धुने ट्याप समेत जडान गरिएको क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।
सो अवसरमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष मल्लले यसअघि गाभर पार्कमा आउने आन्तरिक पर्यटकका लागि सरसफाई र सरसफाईको सुविधा नभएको तथा शौचालय नहुँदा समस्या भोग्नुपरेकोमा अब सहज भएको बताउनुभयो । यसले सरसफाई र वातावरण संरक्षणमा ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
गाभर होमस्टेका अध्यक्ष कृष्ण चौधरीले गाभरमा पर्यटकको सुविधाका लागि अत्यावश्यक रहेको शौचालय तथा पानीको व्यवस्था कतार च्यारिटी र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा निर्माण गरेर परोपकारी सहयोग गरिएको बताउनुभयो । लायन्स गाभर पार्कका अध्यक्ष युवराज शाहले कृतज्ञता व्यक्त गर्दै नवनिर्मित यस सरसफाइ र सरसफाई सुविधाबाट ठूलो संख्यामा पार्कमा आउने पर्यटक लाभान्वित हुने बताउनुभयो । हस्तान्तरण कार्यक्रममा क्लबका अनुगमन मुल्यांकन अधिकृत अनुप वर्मा र फिल्ड सुपरभाइजर सुदीप गौतमको पनि उपस्थिति रहेको थियो ।