व्याख्यात्मक घोषणासँगै एमसीसीको पक्षमा भोट हाल्न माओवादी र एकीकृत समाजवादी तयार !

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्व सहमत भए एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने छ । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्णय गरेर नआए कुनै पनि बेला गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

एमसीसी अनुमोदनको पक्षमा रहेको कांग्रेसले पछिल्लो समय प्रमुख विपक्षी दल एमालेसँग निरन्तर सम्वाद गरेको छ । शनिबार पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की एमाले नेताहरुसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । एमाले नेताहरुसँग सकारात्मक छलफल भएपनि साँझ सत्तारुढ गठबन्धनको निर्णय भएकाले कुनै सहमति नभएको एक नेताले बताए । एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि शुक्रबार विहानदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने गरी सहमतिको विन्दु खोज्न सक्रिय भएका थिए । उनीहरुले एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन मद्दत गर्ने सन्देश प्रधानमन्त्री देउवालाई पठाएका छन् ।

शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुले विरोध गर्दै संसद बैठक बहिस्कार गर्ने र ध्वनि मतका आधारमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । तर देउवा विश्वस्त हुन सकेनन् । विकल्पका रुपमा एमसीसीबारे प्रश्न उठेका विषयहरुमा व्याख्यात्मक घोषणा गर्ने र सत्तारुढ दलहरुले मतदान गर्ने प्रस्तावमा पनि छलफल भएको थियो । शनिबार पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गृहकार्य गरे । अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दीको सहयोगमा व्याख्यात्मक घोषणामा केके राख्ने भनेर तयार पारेका छन्, जसबारे शीर्ष नेताहरुलाई ब्रिफिङ भइसकेको छ । व्याख्यात्मक घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्छ जस्ता विषय राख्ने छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थितिमा यसबारे छलफल हुनेछ  । दोस्रो तहका नेताहरुले मतदान नै गर्छौ भन्नुभएको छ । तर शीर्ष नेताहले के भन्नुहुन्छ थाहा छैन,’ सत्तारुढ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘यदि उहाँहरुले पनि व्याख्यात्मक घोषणासँगै मत दिने बताउनुभयो भने दलको औपचारिक निर्णय पर्खिन्छौं । एकीकृत समाजवादीले आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादीले बैठक बोलाउने तयारी गरेको छ । यदि शीर्ष तहमा सहमति जुट्यो र दलगत निर्णय भयो भने व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुन्छ र पाँचदलीय गठबन्धन पनि जोगिने नेताहरु बताउँछन् ।

एमाले पनि तयार छ ।

कांग्रेस नेताहरुका अनुसार सत्तारुढ गठबन्धनकै नेताहरुले एमसीसीको पक्षमा मत दिने बताएका कारण एमालेसँग कुनै सहमति भएको छैन । तर माओवादीले एमसीसीको पक्षमा मत दिने निर्णय गरेन भने दुई दलबीच सहमति हुन धेरै समय चाहिँदैन । नेताहरुका अनुसार एमाले नेतृत्वलाई एमसीसीको पक्षमा उभिन कुनै अप्ठ्यारो छैन । अहिले गठबन्धन टुट्ने, आगामी चुनावमा कांग्रेससँग माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन पनि नहुने भएकाले एमाले नेतृत्व एमसीसी संसदबाट अनुमोदन गर्ने गरी कांग्रेससँग सहकार्य गर्न तयार देखिएको छ । एक नेता भन्छन्, ‘माओवादी केन्द्रले भोट नहाल्ने हो भने हाम्रो सबै कुरा टुंगिन्छ । त्यसैले उहाँहरुको निर्णय पर्खिऔं भन्ने भएको छ । साभार अनलाइन खबर बाट