अल्लो र महको बजारीकरणमा समस्या

सुर्खेत । अल्लो र मौरी व्यवसायिहरुले अल्लोबाट बनेको सामग्री र महले बजार नपाएको गुनासो गरेका छन् । युएसएआइडी जल जंगल कार्यक्रमको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको दुई दिने सहभागिता मुलक बजार मुल्य श्रृखलाका लागि बहुसरोकारवाला अन्तरक्रियात्मक कार्यक्रमका सहभागिहरुले उत्पादन गरेको मह र अल्लोको बजारीकरणमा समस्या भएको बताएका हुन् । वीरेन्द्रनगर १ की कामना बरालले महको बजारीकरणमा आफुले समस्या भोग्दै आएको बताइन् । मौरी संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले चाँसो नदिएको उनको गुनासो छ । मौरीलाई चरिचरणका लागि उपयुक्त स्थान नभएकाले मह उत्पादनमा कमी भएको र उत्पादन भएको मह पनि विक्रि वितरणमा समस्या भएको उनको भनाई छ । उनले भनिन्, ‘हरेक वर्ष सामुदायिक वनमा वृक्षारोपण गरिन्छ तर मौरीलाई चरिचरण हुने खालका विरुवा अहिलेसम्म रोप्न सकिएको छैन, त्यस कारण पनि मौरीका लागि चरणको अभाव भएको छ ।’ सिसौ, रुदिलो, खयर, तोरी, कल्की, जामुनो जस्ता रुखबाट मौरीले महका लागि रस लिने गर्छ, उनले थपिन् । मौरीको चरिचरण अभावका कारण कामनाले अहिले मौरीलाई खरभुजा, स्याउ खुवाएर संरक्षण गर्दै आइरहेको बताइन् । जनस्तरमा चेतनाको कमीका कारण पनि मौरी संरक्षण हुन नसकेको उनको भनाई छ ।

मह प्रशोधनकर्ता दिपक तारामीले मह उत्पादनमा कमी हुँदा उपभोक्ता मारमा परेको बताए । कृषकले मह उत्पादन कम गर्ने र महंगो हुने भएकाले विक्रि वितरणमा समेत समस्या भएको उनको भनाई छ । उनले स्थानीय स्तरमा उत्पादन कम हुँदा बाहिरी जिल्लाबाट मह ढुवानी गर्नुपर्ने भएकाले उपभोक्तालाई महंगो हुने गरेको बताए । मौरी संरक्षण गर्नका लागि मौरीका लागि उपयुक्त हुने विरुवाको वृक्षारोपण गर्न जरुरी रहेको तारामी बताउँछन् ।

यस्तै युएसएआइडी जल जंगल कार्यक्रमका उद्यम विकास अधिकृत मुकेश कुवँरले अन्तरक्रिया कार्यक्रमको पहिलो दिन अल्लो उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा छलफल गरिएको जानकारी दिए । उनले सहभागिहरुले अल्लो वातावरणमैत्री तथा दिगो उत्पादनका लागि अल्लोको संरक्षण गरी त्यसको प्रयोग पनि आधुनिकीकरणबाट गर्नुपर्नेमा जोड दिएको बताए । अल्लो पकाउनका लागि आधुनिक भाडाको आवश्यकता रहेको सहभागिहरुको भनाई थियो । पछिल्लो समय अल्लोको संरक्षण गर्नका लागि स्थानीय सरकार, सामुदायिक वन तथा उपभोक्ता स्वंयम लाग्नु पर्ने सहभागिहरुले बताएका छन् । कर्णाली प्रदेश अल्लोको प्रचुर सम्भावना भएकोले र धागो उत्पादन पनि राम्रो हुने भएकाले प्रदेश सरकार र स्थानीय सरकारले अल्लो उत्पादनमा जोड दिनुपर्नेमा सहभागिहरुको भनाई छ ।

युएसएआइडी जल जंगल कार्यक्रमका अनुगमन मुल्याकंन सञ्चार बरिष्ठ अधिकृत निर्मल नेपालीले मौरीको संरक्षण गर्न चरिचरण आवश्यक रहेको भन्दै मौरीका लागि उपयुक्त विरुवा वृक्षारोपण गर्नुपर्ने र यसले प्रत्यक्ष रुपमा वातावरण संरक्षणमा मद्दत पुग्ने बताए । कार्यक्रममा मह र अल्लो उत्पादक व्यवसायी, स्थानीय सरकारका प्रतिनीधि, प्रशोधनकर्ता र परियोजनाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।