माओवादीले सरकार छाड्न सक्ने संकेत

काठमाणडाैं, १२ फागुन

एमसीसीको विषयले सत्ता गठबन्धन फुटतिर गएको छ । माओवादी केन्द्र कुनैपनि हालतमा संशोधनबिना एमसीसी पास गर्न तयार नभएपछि गठबन्धन फुटतर्फ गएको हो । यद्यपि फुटको औपचारिक घोषणा भने हुन बाँकी छ । माओवादी केन्द्रका एक नेताले बिहीबार भएको नेताहरुबीचको एकपक्षीय र बहुपक्षीय छलफलपछि आ–आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको बताए । आज बिहान माओवादी र एकीकृत समाजवादी पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच संशोधनबिना एमसीसी कुनै हालतमा स्वीकार गर्न नसक्ने निचोडमा पुगेका थिए । यो निष्कर्षपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रममा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीमा सहमति जुटेन । त्यसपछि दुवै नेता आ आफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेका हुन् ।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बिहीबार देउवा प्रचण्डको छलफलपछि गठबन्धनमा रहेका दलहरु आआफ्नो बाटो लाग्ने निष्कर्षमा पुगेको रातोपाटीलाई बताए । ‘आज बिहान प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच भएको छलफलपछि सौहार्दपुर्ण बातावरणमै आआफ्नो बाटो लाग्ने कुरा बुझेको छु’, नेता पोखरेलले भने, ‘एमसीसी पारित गराएरै छोड्ने देउवाको अडान र हामी संशोधनबिना सहमति जनाउन नसक्ने अवस्थामा पुगेपछि त्यो अवस्था आएको हो । निष्कर्षपछि प्रधानमन्त्री देउवाकै आग्रहमा बिहीबारका लागि तय भएको प्रतिनिधि सभा बैठक एक दिनका लागि स्थगित गरिएको थियो । लगत्तै देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले पछिल्लो वस्तुस्थितिको बारेमा एमाले नेताहरुलाई जानकारी गराएका थिए । यसैबीच प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचपनि बिहीबार अपराह्न भेटवार्ता भएको छ ।