रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशवबहादुर थापा मगरलाई

९ कार्तिक २०७९ रुपन्देही । पाँच दलीय सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन जनाउने निर्णय गरेको छ । बुधबार सत्ता गठबन्धनका चार दलका शीर्ष नेताले यस्तो निर्णय गरेका हुन् । निर्णयपछि उनीहरूले जारी गरेको विज्ञप्तिमा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई साझा उम्मेदवारका रूपमा समर्थन गरिएको उल्लेख छ ।

विज्ञप्तिमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् । एकीकृत समाजवादीको भागमा परेको रुपन्देही २ मा सो पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि सत्ता गठबन्धन उम्मेदवारविहीन भएको थियो । सोही ठाउँमा गठबन्धनले जनमुक्तिलाई उम्मेदवार थापा मगरलाई साझा उम्मेदवारका रूपमा समर्थन जनाएको हो ।