सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा जारी

२ भदौ २०७९ काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बसेको हो । गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् । बैठकमा कार्यदलका नेताहरू पनि सहभागी भएका छन् । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् ।

गते २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो । तर, कार्यदलले सिट बाँडफाँटको टुङ्गो लगाउन सकेन । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।