असल छिमेकी सामुदायिक हस्पिटलद्वारा दाङमा स्वास्थ्य शिबिर संचालन

०५ मङ्सिर २०८० दाङ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले आइतबार गौरीया नाकामा पुगेर नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । त्यहाँ विभिन्न रोगका ८० जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरिएको र विरामीहरुको नि:शुल्क रुपमै प्रेसर सुगर जाँच गरी आवश्यक औषधि पनि नि:शुल्क नै वितरण गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी सोमबारका दिन गङदी खोला गाउँमा संचालन गरेको शिविरमा १ सय २० जना विरामीलाई नि:शुल्क रुपमा सुगर प्रेसर जाँच लगायतका स्वास्थ्य चेकजाँच गरी आवश्यक औषधि नि:शुल्क रुपमै वितरण गरिएको अस्पतालले जनाएको छ ।

नि:शुल्क रुपमै स्वास्थ्य जाँच र औषधि पाएपछि स्थानीय खुशी भएका थिए । विकट ठाउँमा पनि अस्पतालका डाक्टरसहितको टोली आएर औषधि उपचार गरिदिएको भन्दै डाक्टर र अस्पताललाई स्थानीयले धन्यवाद दिएका थिए ।

नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा.प्रकाश बसेलको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विरामीलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले बाँके जिल्ला लगायत विभिन्न जिल्लामा पुगेर गरीव निमुखा तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नेपाली नागरिकको नि:शुल्क स्वास्थ्य जाँच र नि:शुल्क रुपमै औषधि वितरण गर्दै आएको जनाएको छ ।

राजपुरको ६ नम्बर वडाको गौरीया नाकासम्म पुग्नकालागि गङ्दीबाट ८ घण्टाको पैदल यात्रा गरेर भरीयामार्फत औषधि बोकाएर चिकित्सकको टोली अस्पतालले त्यहाँ पुराएको थियो ।

गरिव तथा निमुखा नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम विभिन्न जिल्लामा निरन्तर रुपमा जारी रहने अस्पतालले जनाएको छ ।