किसानहरू हेपिएर देश बन्दैन : अर्थमन्त्री शर्मा

२२ जेठ २०७९ काठमाण्डाैं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताएका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताएका हुन् । उनले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरूले दुःखेसो गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने तर्क गरे ।

उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन राष्ट्रिय संकल्प र त्यसप्रकारको नीतिको अभाव रहेको पनि औँल्याए । उनले भने, ‘कृषि क्षेत्रलाई माया पनि गर्नुपर्यो । सम्मान पनि गर्नुपर्यो । त्यसको सही परिचालन पनि गर्नुपर्यो । किसानहरू हेपिएर देश बन्दैन । कृषिमा काम गर्नेहरूले दुःखेसो गर्ने अवस्था आयो भने हामी राष्ट्रलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन सक्दैनौँ ।’

अर्थमन्त्री शर्माले नेपालमा आवश्यक कृषि मेसिनरी नेपालमै उत्पादन गर्नुपर्ने पनि बताए । कृषि मेसिनरी उद्योग खोल्न आग्रह गर्दै उनले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने वचन पनि दिए ।

उनले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरूको हस्तान्तरण र सिँचाइको व्यवस्थालगायतका कामलाई एकीकृत गरी लैजानु आवश्यक रहेको पनि बताए ।