काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा आज पेस भएको छ । प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो ।
विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।
प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताए । राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनुपरेको उनले दोहोर्याए । विधेयकले कर्मचारीलाई राजनीतिक रुपमा मुक्त बनाउनेलगायतका उद्देश्य रहेको पनि उनले बताए ।
बिहानीको तारा । १ चैत्र २०८०, बिहीबार १४:०७