आज चैत १२ गते जुम्लामा कालिमार्सी धानको विउ राखियो

  • यूनेस परियार

१२ चैत्र २०७८जुम्ला । जुम्लामा कालिमार्सी धानको विउ राखिएको छ । यहाँका किसानहरुको चैत १२ गते कालिमार्सी धानको विउ राख्ने समय हो । सो दिनलाई चैते बारुवा पनि भनिन्छ । आजको दिनमा जुम्ली किसान मार्सी धानको बिउ बताउने र भिजाउने चलन छ ।

हिमा गाउँपालिका –१ का स्थानीयवासी लंक बहादुर शाहीका अनुसार धान खेतीको लागि १२ गते अर्थात ’बारुवा’ पर्व विशेष मानिने र मार्सी धनको चामल भिजायर बिउ राखिन्छ ।
उहाँका अनुसार चैत १२ गते विउ राखेपछि धान खेतीको सुरु हुन्छ । सोही दिन देखि धान बताउने, भिजाउने ,सुकाउने, तथा बेर्ना राख्नकोलागि बेर्नामा गोरु लिएर साउने अर्थात जोत्ने , हिल्याउने र घरमै न्यानो गारि राखेको बिउ टुसाय पछि २० गतेको दिन बेर्नामा लिएर छर्नुपर्ने हुन्छ ।

विश्वको अग्लो स्थानमा फल्ने मार्सीधान खेतीको सुरुवात बीउ भिजाएदेखि सुरु हुन्छ । चैत १२ गते भिजाएको धानको १६ गते उतार्ने, घरमा न्यानो गरी राख्ने, बिहान–बेलुका पानी हाल्ने र उम्रीसकेपछि अर्थात टुसाई सकेपछि चैत २० गते बेर्नामा लिएर छर्ने गरिन्छ ।

बेर्नामा बिउ छरेको दिनलाई ‘विशुवा’ पर्वको रुपमा पनि मनाइन्छ। बिशेष गरि त्यो दिन हरियाली भएका नगदेबाली जौको खेतमा गएर रमाइलो गर्ने भएको हुनाले यसलाई एक प्रकारको उत्सव जस्तै मनाउने पनि गरिन्छ ।

त्यसैगरी वैशाख १ गते बेर्नामा हुर्किरहेको धानलाई पुजा गर्ने गरिन्छ । धानको पुजा गर्नलाई स्थानीय भाषामा तागा लगाउने भनिन्छ । नयाँ वर्षको दिनलाई स्थानीयहरु तागे संक्रान्ति भन्छन् । यसै गरि जेष्ठ महिनामा रोपने, असारमा गोडमेल गर्ने र अन्तयमा कार्तिक महिनामा जुम्लाको कालिमार्सि धान भित्रयाउने गरिन्छ ।

१२ गते नआउने जुम्ली मर्यो भन्थे :

१२ गते नआउने जुम्ली बाचेर आउदैनथे भन्ने चलन पनि रहेको छ । प्रायगरी जुम्लाका मानिसहरु कामको सिलसिलामा भारत सहित जिल्ला वाहिर जाने गर्दथे । यातायातको साधन नहुदा हिडेर आउने जाने चलन थियो । तर चैत १२ गते जसरी पनि विउ राख्नका लागि हरेक घरका मानिस आउथे । घरका मानिस नआएपछि जिउदो रहेन भन्ने सन्देश हुने गरेको स्थानीय बुढापाका बताउछन् ।