एसिया कप : नेपालले आज भारतसँग खेल्दै

१८ भदौ २०८० काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो भने भारत  एसिया कपमा यो १५औँ सहभागिता हो ।

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।

१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको राष्ट्र हो ।

नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई—दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

यस्तो स्थितिमा सोमबारको खेलमा दुबै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको छ ।

मौसम विभागका अनुसार, केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला रहेको स्थानमा सोमबार विहान ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ । त्यसैले रंगशालाको आउट फिल्ड सुक्न पनि केही समय लाग्नेछ । तर, नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ ।

उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । टस हुने समयमा पालेकेलमा २२ प्रतिशत वर्षाको सम्भावना देखाइएको छ । साँझ ६ बजेसम्म पनि वर्षाको सम्भावना २२ प्रतिशत नै देखिन्छ । त्यसपछि भने वर्षाको सम्भावना बढेर ६६ प्रतिशत पुग्ने देखिएको छ ।

त्यसैले मौसममा नाटकीय परिवर्तन नआएमा दोस्रो पालीको खेल वर्षाका कारण बिथोलिने निकै सम्भावना देखिन्छ । वर्षाका कारण खेल रद्द भए समूह ‘ए’ बाट भारत ‘सुपर फोर’ चरणमा पुग्ने दोस्रो राष्ट्र बन्नेछ । यस्तो स्थितिमा तालिकामा दुई अंकसहित भारत दोस्रो र एक अंकसहित नेपाल तेस्रो स्थानमा रहनेछन् ।

नेपाल र भारत यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा भिडेका थिएनन् । नेपालले बलियो टेस्ट राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नै यही एसिया कपमा हो । एसिया कपको उद्घाटन खेलमा नेपाली टोली पहिलो पटक पाकिस्तानसँग भिडेको थियो ।

सोमबार भारतसँग खेल्दा नेपाललाई पाकिस्तानसँगको खेलले पनि केही सहयोग गर्नेछ । आफ्नो पहिलो खेलमै विश्व क्रिकेटका धुरन्धर तिब्रगतिका बलरहरुको सामना गर्नुपरेको अनुभवले नेपाललाई भारतसँग खेल्न केही राहत दिनेछ । पाकिस्तानविरुद्घको खेलमा टस हारेर पहिलो बलिङको निम्तो पाएको थियो ।

आफूभन्दा निकै बलियो टोलसँग खेले पनि उक्त खेलमा नेपाली बलरले प्रारम्भमै पाकिस्तानको दुई विकेट लिएका थिए । नेपाली बलरले फाखर जामनलाई १४ र इमाम उल हकलाई पाँच रनमा पेभेलियन फर्काएका थिए । खेलको प्रारम्भमा आक्रमक देखिएका नेपाली बलरले पछि क्रमशः लय गुमाएका थिए ।

वास्तबमा उक्त खेलमा नेपाली खेलाडीसँग अन्तर्राष्ट्रिय अनुभवको कमी झल्कन्थ्यो । उक्त खेलमा नेपाली बलरले पाकिस्तानको ६ विकेट लिएका थिए । एकदिवसीय क्रिकेटमा विश्वकै नम्बर एक ब्याट्सम्यान बाबर आजमलाई समेत नेपाली बलरले पेभेलियन फर्काएका थिए ।

यद्दपि, उक्त खेलमा पाकिस्तानले तीन सय ४२ रन बनाएको थियो । नेपाली बलर सोमपाल कामीले दुई तथा करण केसी र सन्दीप लामिछानेले एक—एक विकेट लिएका थिए । पाकिस्तानका दुई ब्याट्सम्यान भने रनआउट भएका थिए । उक्त खेलमा नेपालको फिल्डिङ पक्ष भने कमजोर देखिएको थियो ।

नेपाली फिल्डरले पाकिस्तानको दुईवटा महत्वपूर्ण क्याच ‘ड्रप’ गरेका थिए । अर्धसतक बनाएलगत्तै जीवनदान पाएका पाकिस्तानी कप्तान बाबर आजमले अन्ततः टोलीको खातामा एक सय ५१ रनको योगदान गरेका थिए ।

ठूलो लक्ष्य पछ्याए पनि पाकिस्तानविरुद्घ नेपाली ब्याट्सम्यानहरु प्रभावकारी देखिएनन् । खासमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको ब्याटिङ सधैं कमजोर देखिँदै आएको छ । खासमा अन्तर्राष्ट्रिय अनुभवको कमी पनि यसको एउटा कारण हो ।

अघिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहत दिएका थिए । साहिन शाह अफरिदी, नसिम शाह, ह्यारिस रउफजस्ता संशारकै तिब्रगतिका बलरहरुले एक सय ४९ किलोमिटर प्रतिघन्टाको रफ्तारमा फालेको बलको सामना गर्दै आरिफ र सोपपालले टोलीका लागि ५९ रनको साझेदारी गरेका थिए ।

पक्कै पनि पाकिस्तानविरुद्घको त्यो खेलले नेपाली खेलाडीको मनोबल बढाएको छ । त्यसले सोमबार भारतविरुद्घ मैदानमा ओर्लंदा नेपाली खेलाडीको आत्मविश्वास उच्च हुनेछ । यो नेपाली टोलीका लागि सकारात्मक पक्ष हो ।

नेपाली टोलीको सबैभन्दा कमजोर पक्ष भनेको अन्तर्राष्ट्रिय अनुभवको कमी नै हो । नेपाली टोलीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छ । तर, भारत, पाकिस्तान, श्रीलंकाजस्ता बलिया टोलीसँग एकदिवसीय प्रतियोगिता खेलेको अनुभव नेपाली खेलाडीसँग छैन । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेकै भर्खर पाँच वर्ष पुग्दैछ । नेपाली टोलीले सन् २०१८ को अगस्त १ मा नेदरल्यान्ड्सविरुद्घ पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

यसैगरी असन्तुलित ब्याटिङ नेपालको अर्को कमजोर पक्ष हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको ब्याटिङ प्रायः कमजोर देखिन्छ । कुनै खेलमा ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्छन् । तर, त्यसलगत्तै अर्को खेलमा नेपालको ब्याटिङ खस्किन पुग्छ ।

खासगरी नेपालको माथिल्लो क्रममा ब्याट्सम्यानहरु क्रिजमा लामो समय टिक्न सकेको पाइँदैन । माथिल्लो क्रमका ब्याट्सम्यानबीच ठूलो साझेदारी हुन नसक्दा नै टोलीको स्कोर सम्मानजनक स्थितिसम्म पुग्न सक्दैन । त्यसैले भारतविरुद्घको खेलमा पनि यसतर्फ नेपाली टोलीको ध्यान जानु आवश्यक देखिन्छ ।

खासगरी भारतविरुद्घको खेलमा पनि नेपालको सबैभन्दा महत्वपूर्ण यतियार बलिङ नै हुनेछ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सबैभन्दा बलियो पक्ष भनेकै बलिङ हो । उत्कृष्ट बलिङकै कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पारेको छ । नेपाली टोलीमा सन्दीप लामिछाने र करण केसीजस्ता अनुभवी बलर छन् ।

लेग—स्पिनर सन्दीपसँग अन्तर्राष्ट्रिय स्तरमा थुप्रै फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ । २३ वर्षीय सन्दीपले हालसम्म ५० वटा एकदिवसीय प्रतियोगिता खेलेर एक सय १२ विकेट लिइसकेका छन् । एकदिवसीय प्रतियोगिताको एउटै खेलमा उनले ११ रन खर्चिएर ६ विकेट लिएको इतिहास छ ।

यसैगरी ३१ वर्षीय करण पनि नेपाली टोलीका अनुभवी बलर हुन् । उनीसँग पनि नेपालका लागि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको अनुभव छ । उनले हालसम्म देशका लागि ४७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ७४ विकेट लिएका छन् । उनले एउटै एकदिवसीय खेलमा ३३ रन दिएर पाँच विकेट लिएको इतिहास छ ।

यसैगरी पाकिस्तानविरुद्घको खेलमा उत्कृष्ट बलिङ गरेका सोमपाल पनि भारतविरुद्घ महत्वपूर्ण हतियार बन्न सक्छन् । २७ वर्षीय सोमपालले देशका लागि हालसम्म ४८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेर ६५ विकेट लिएका छन् । उनले एउटै एकदिवसीय खेलमा ३३ रन खर्चिएर पाँच विकेट लिएका छन् ।

सोपपाल टोलीका अलराउन्डर खेलाडी हुन् । उनले एकदिवसीय खेलको ३७ पालीमा पाँच सय ६ रन पनि बनाएका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित ६३ रन हो । एकदिवसीय खेलमा उनले दुईवटा अर्धसतक प्रहार गरेका छन् ।

यसैगरी पछिल्लो समय नेपाली टोलीको ब्याटिङमा पनि क्रमशः सुधार आउँदै गएको देखिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सधैं ब्याटिङ कमजोर देखिएपछि यसपटक नेपाली टोलीको ब्याटिङ सुधारका लागि निकै प्रयास गरिएको छ । प्रशिक्षक मोन्टी देशाईले एसिया कपअघि आफ्नो बढी ध्यान ब्याटिङ सुधारमै केन्द्रीत गरेका थिए ।

यसैगरी पछिल्लो समय नेपाली टोलीले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर पाएको छ । घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कप, जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनोट प्रतियोगिता, श्रीलंकामा सम्पन्न इमर्जिङ टिम्स एसिया कप यसैको उदाहरण हुन् ।

यी प्रतियोगिताहरुमा नेपालले आफूभन्दा बलिया प्रतिद्वन्द्वीहरुसँग पनि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । जिम्बाबे, वेस्ट इन्डिज, आयरल्यान्डजस्ता टोलीसँग पनि नेपालले गतिलो ब्याटिङ गरेको छ । अधिकांश खेलमा दुई सय ५० को औसतमा रन बनाएको छ ।

नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरीजस्ता अनुभवी ब्याट्सम्यान छन् । ५३ वटा एकदिवसीय खेल खेलेका कप्तान रोहितले एक हजार चार सय ६९ रन बनाएका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय २६ रन हो । उनले आठवटा अर्धसतक पनि प्रहार गरेका छन् । यद्दपि, पाकिस्तानविरुद्घको खेलमा उनी ‘डक आउट’ भएका थिए ।

यसैगरी कुशल भुर्तेलले देशका लागि ४५ वटा एकदिवसीय खेल्दै नौ सय ९४ रन बनाएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय १५ रन हो । एकदिवसीय खेलमा उनले ६ वटा अर्धसतक पनि प्रहार गरेका छन् । ओपनरको भूमिकामा देखा पर्ने कुशल भुर्तेल पनि पाकिस्तानविरुद्घको खेलमा भने आठ रनमै पेभेलियन फर्किएका थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरी पनि नेपाली टोलीका अनुभवी खेलाडी हुन् । उनले हालसम्म देशका लागि ५१ वटा एकदिवसीय खेल्दै आठ सय ६० रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन एक सय पाँच रन हो । एकदिवसीय खेलमा उनले तीनवटा अर्धसतक पनि हिर्काएका छन् । पाकिस्तानविरुद्घको खेलमा भने उनको बलिङ र ब्याटिङ दुबै चल्न सकेको थिएन । उनी तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

यति हुँदाहुँदै पनि नेपाली टोलीका लागि भारत निकै ठूलो प्रतिद्वन्द्वी हो । आजभन्दा ४८ वर्षअघि सन् १९७५ मा भारत र पाकिस्तान एकदिवसीय विश्वकपको पहिलो संस्करण खेलिरहेका थिए । त्यतिबेला नेपाली क्रिकेट आफ्नै देशभित्र अस्तित्वको खोजीमा थियो ।

नेपाली क्रिकेटले सन् १९९६ मा मात्र आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो । नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २७ वर्ष पुग्दैछ ।

यस्तो स्थितिमा भारतजस्तो विश्व क्रिकेटको हस्ती राष्ट्रलाई चुनौति दिने आत्मविश्वास बोकेर मैदानमा ओर्लनु नै नेपाली टोलीका लागि ठूलो उपलब्धि हो । तर, प्रतिद्वन्द्वी जतिसुकै बलियो भए पनि हरेक टोली खेल जित्नकै लागि मैदानमा ओर्लने हो भन्ने कुरालाई नेपाली खेलाडीले राम्ररी बुझेका छन् ।

किनभने आफूभन्दा बलिया टोलीसँगको खेलमा हात पार्ने हरेक सफलताले नेपाली क्रिकेटको इतिहासमा नयाँ इतिहास कोर्ने पक्का छ । अर्थात, पहिलो पटक सहभागिता जनाइरहेको नेपालले यसपटक एसिया कपमा जुन सफलता हात पार्छन् ती सबै ऐतिहासिक हुनेछन् ।

सिनियर प्रतियोगितामा नेपाल र भारत पहिलो पटक आमनेसामने हुन लागे पनि उमेरसमूहको प्रतियोगितामा भने नेपालले भारतीय टोलीलाई हराएको इतिहास छ । सन् २०१७ को नोभेम्बर १० देखि १७ सम्म मलेसियामा आयोजना भएको एसीसी यू—१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो ।

त्यतिबेला भारतीय यू—१९ टोलीको प्रशिक्षक राहुल द्रविड थिए । द्रविड अहिले एसिया कपमा भारतीय टोलीका प्रशिक्षक हुन् । सन् २०१७ मा मलेसियामा आयोजना भएको एसीसी यू—१९ एसिया कपमा नेपाली टोलीको ब्याटिङ प्रशिक्षक थिए, मोन्टी देसाई । उनी एसिया कपमा अहिले नेपाली टोलीका प्रशिक्षक हुन् ।

सन् २०१७ को एसीसी यू—१९ एसिया कपमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ४८.१ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रनमात्र बनाउन सकेको थियो ।

नेपालका लागि तात्कालिन कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । ब्याटिङतर्फ उनले ८८ रन बनाएका थिए । उनले एक सय एक बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए । बलिङतर्फ पनि उनले १० ओभरमा दुई मेडन राख्दै ३९ रन खर्चिएर चार विकेट लिएका थिए । दीपेन्द्र अहिले एसिया कपमा पनि नेपाली टोलीका अनुभवी खेलाडी हुन् ।

यसैगरी त्यतिबेला नेपाली टोलीको सदस्य रहेका रोहित पौडेल एसिया कपमा नेपाली टोलीका कप्तान हुन् । त्यतिबेला नेपाली टोलीमा सदस्य रहेका भीम सार्की, आसिफ शेख, किशोर महतो र सन्दिप लामिछाने अहिले एसिया कप टोलीका पनि प्रभावशाली सदस्य हुन् । त्यतिबेला समूह ‘ए’ बाट भारतलाई पछि पार्दै बंगलादेश र नेपाल नकआउट चरणमा पुगेका थिए ।

पहिलो पटक एसिया कप खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देशाई रहेका छन् ।

यसैगरी भारतीय टोलीमा रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, हार्दिक पाण्डेया, रविन्द्र जडेजा, सार्दुल ठाकुर, कुलदिप यादब, मोहम्मद सामी, जसप्रित बुमराह, मोहम्मद सिराज, अक्सर पटेल, सूर्यकुमार यादब, प्रसिद्ध कृष्ण, तिलक वर्मा र केएल राहुल रहेका छन् । केएल राहुल भने घाइते समस्याका कारण टोलीबाट बाहिरिइसकेका छन् ।