पीएनजीविरुद्ध नेपाल ६ रनले चुक्यो

११ चैत, काठमाडौं । एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाए पनि नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो । नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन । नेपाललाई जितका लागि अन्तिम २ ओभरमा १५ रन चाहिएको थियो । तर ४९ ‌औं ओभरमा ५ रन मात्र बनाए पछि अन्तिम ओभरमा नेपाल दबाबमा पर्‍यो ।

अन्तिम ओभरमा ठूलो सर्ट खेल्ने चाहनामा ३ बल फेस गरेका सोमपाल कामीले १ बाई मात्र चोरे । ३ बल नै खेल्ने मौका पाएका प्रदीप सिंह ऐरीले २ रन मात्र बटुले र नेपाल ६ रनले पराजित भयो । यसअघि पीएनजीविरुद्ध २९३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालको सुरुवात राम्रो हुन सकेन । ओपानर अनिल साह आठौं ओभरका व्यक्तिगत ६ रन बनाएर आउट भए । नवौं ओभरको अन्तिम बलमा डेब्युटान्ट देव खनाल खाता नखोली आउट भए भने एक छेउबाट ईनिङ्स सम्हालेका कुशल भुर्तेल पनि दशौं ओभरकको पहिलो बलमै आउट भएपछि नेपालले ४५ रनमा तीन विकेट गुमाएको थियो ।

कुशलले २८ बल खेल्दै ६ चौकाको मद्दतमा ३२ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले नेपालको ईनिङ्स अघि बढाए । तर दीपेन्द्र पनि व्यक्तिगत १५ रन बनाएर १३ औं ओभरमा आउट हुँदा नेपाल ७३-४ को स्थितीमा पुग्यो । फेरि एकपटक रोहित र आरिफ शेखले नेपालको ईनिङ्सलाई सम्हाल्ने काम गरे । यी दुईले राम्रो साझेदारी गर्दै नेपालको रन गतिलाई अघि बढाए । उनीहरुले पाँचौं विकेटका लागि १०४ रनको कीर्तिमानी साझेदारी गरे । यसअघि लिग टू मा पनि यझ जोडीले पाँचौं विकेटकै लागि १०० रनको साझेदारी गरेको थियो । ३६औं ओभरको पहिलो बलमा असद भालाले आरिफ शेखलाई कट एण्ड बोल्ड गर्दै साझेदारी तोडे । त्यतिबेलासम्म आरिफले ६४ बल खेल्दै २ चौकाको मद्दतमा ३४ रन बनाएका थिए । आरिफ आउट भएपछि रोहितले भीम सार्कीसँग ४० रनको अर्को साझेदारी गरे । भीम १७ रन बनाएर ४१औं ओभरमा आउट भए । उनी आउट हुँदा नेपाललाई ५५ बलमा ७६ रन चाहिएको थियो र नेपालको ४ विकेट बाँकी थियो ।

त्यसपछि क्रिज पुगेका पवन सर्राफ ७ रन बनाएर सातौं विकेटका रुपमा आउट भए । एकछेउका ब्याटर धमाधम आउट भए पनि अर्को छेउमा टिकेर खेलेका रोहित ४६ औं ओभरमा १२६ रन बनाएर आउट भए । १०७ बल खेलेका उनले ७ चौका र ४ छक्का हानेका थिए । यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो । पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए । सोमपाल कामीले चोथौ ओभरको अन्तिम बलमा पीएनजीका ओपनर हिरी हिरीलाई पहिलो विकेटका रुपमा आउट गरे । हिरीलाई चार वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विकेटकिपर अनिल शाहले क्याचआउट गरे । पहिलो विकेट चाँडो गुमाएको पीएनजीले त्यसपछि संयमित भएर ब्याटिङ्ग गर्‍यो । टोनी उरा र कप्तान असद भालाले दोस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे । दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाएका पीएनजीका ओपनर उरालाई १३ ओभरको अन्तिम बलमा भीम सार्कीबाट क्याचआउट गराए । सार्कीको यो दोश्रो एक दिवसीय खेल हो ।

असद भाला ६० रन बनाएर २६ औं ओभरको पहिलो बलमा आउट भए । उनले तेस्रो विकेटका लागि चार्ल्स अमिनीसँग ७४ रनको साझेदारी गरे । त्यसपछि सेसे बाउ खाता नखोली आउट । सन्दीपले २७ औं ओभरमा कुशल भुर्तेलबाट उनलाई क्याचआउट गराए । पाँचौँ विकेटका लागि अमिनी र रिले हेकुरेबीच ६१ रनको साझेदारी भयो । ४२ औं ओभरमा पवनले ३१ रन बनाएका रिलेलाई बोल्ड गरे । छैटौं विकेटका लागि अमिनीले नर्मन भानुअसँग ४८ रनको साझेदारी गरे । ७७ रन बनाएका अमिनीलाई ४६ औं ओभरमा सोमपालले बोल्ड गरे । अमिनीले १०३ बल खेल्दै ६ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा कमलले भानुअ र सिमोन अटाईलाई आउट गरे र आफ्नो नाममा दुई विकेट लेखाए बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए । घरेलु मैदानमा नेपालले पहिले द्विपक्षिय शृंखला खेल्दा घरेलु मैदानमा सन्दीपले कप्तानमा डेब्यु गरे । यस्तै देव खनालले पनि सिनियर टिममा डेब्यु गरे ।