अभियानले बाँकेमा थप्यो नयाँ ऊर्जा, संगठन सुदृढीकरणमा नेताहरूको जोड

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति, बाँकेको आयोजनामा सञ्चालित ‘संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियान’को समीक्षा बैठक खजुरा गाउँपालिकास्थित मिनीपार्क रिसोर्टमा सम्पन्न भएको छ।

जिल्ला संयोजक दिपक जी.एम.को अध्यक्षतामा सम्पन्न बैठकमा लुम्बिनी प्रदेश सह–इन्चार्ज पूर्णकुमारी सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ र बाँके जिल्ला इन्चार्ज अकल बहादुर बमको विशेष आतिथ्यता रहेको थियो।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू आई.पी. खरेल, नरेन्द्र न्यौपाने, उषा पुन, नरेन्द्र पाण्डे, डम्बरबहादुर विक ‘तुफान’ लगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

जिल्लाभर सञ्चालन गरिएको अभियानको प्रभावकारिता, संगठनको वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे समीक्षा गर्ने उद्देश्यले आयोजित बैठकमा बाँकेका विभिन्न पालिका, वडा तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रको प्रगति विवरण प्रस्तुत गरेका थिए। उनीहरूले अभियानका क्रममा जनतासँगको भेटघाटमा उठेका समस्या, गुनासा, सुझाव तथा राजनीतिक उपलब्धिबारे समेत जानकारी गराएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज पूर्णकुमारी सुवेदीले समीक्षा बैठकबाट प्राप्त रिपोर्टिङले पार्टीको वास्तविक धरातल बुझ्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।

उहाँले संगठन सुदृढीकरणलाई केवल कमिटी निर्माणमा सीमित गर्न नहुने भन्दै जनतासँगको सम्बन्धलाई थप जीवन्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। अभियानका क्रममा जनताले उठाएका सवाललाई पार्टीले गम्भीरतापूर्वक लिँदै समस्या समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो।

त्यसैगरी, लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँले बाँके जिल्लाको सांगठनिक अवस्था र कार्यकर्ताको सक्रियताको प्रशंसा गर्दै समीक्षा बैठकबाट प्राप्त निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

उहाँले प्रदेशभर पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउन यस्ता समीक्षा बैठक महत्वपूर्ण हुने उल्लेख गर्दै बाँकेमा सञ्चालित अभियानले सकारात्मक सन्देश दिएको दाबी गर्नुभयो।

बाँके जिल्ला इन्चार्ज अकल बहादुर बमले अभियानले जिल्लामा नयाँ ऊर्जा र उत्साह थपेको बताउँदै अभियानका क्रममा प्राप्त सुझाव र जनताका अपेक्षाका आधारमा आगामी दिनमा पार्टी संगठनलाई थप अनुशासित, सुदृढ र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बैठकका अध्यक्ष तथा जिल्ला संयोजक **दिपक जी.एम.**ले अभियान सफल बनाउन सक्रिय रूपमा खटिएका सम्पूर्ण नेता–कार्यकर्तालाई धन्यवाद दिँदै समीक्षा बैठकबाट प्राप्त रिपोर्टिङ र सुझावका आधारमा आगामी कार्ययोजना तय गरी अघि बढ्ने बताउनुभयो।

बैठकमा अभियानका क्रममा भएका गतिविधि, संगठन विस्तार, जनसम्पर्कको अवस्था तथा आगामी दिनमा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।