बाँकेमा एसइई परीक्षा तयारी पूरा, ९,६८३ विद्यार्थी सहभागी हुँदै


बाँके । माध्यमिक शिक्षा परीक्षा (एसइई) को आगामी चैत १९ हुने परिक्षाको बाँके जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। सोमबार “सञ्चार संवाद” द्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुधन चौलागाईंले यस वर्ष परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री बनाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लाबाट कुल ९ हजार ६ सय ८३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन्। जसमध्ये नियमिततर्फ ७ हजार ९ सय ८१, ग्रेड वृद्धितर्फ १ हजार ७ सय २, प्राविधिक धारका २ सय ७० र साधारणतर्फ ७ हजार ७ सय ११ जना विद्यार्थी रहेका छन्।

परीक्षा सञ्चालनका लागि जिल्लाभर २८ सामुदायिक तथा ८ संस्थागत गरी कुल ३६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। केन्द्र निर्धारण गर्दा भौगोलिक सहजता, सुरक्षा अवस्था र आवश्यक पूर्वाधारलाई विशेष प्राथमिकता दिइएको चौलागाईंले बताउनुभयो।

उहाँले परीक्षा केवल औपचारिक प्रक्रिया नभई विद्यार्थीको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सबै केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गरिसकिएको र विद्यार्थीलाई सहज वातावरणमा परीक्षा दिन सक्ने सुनिश्चितता गरिएको जानकारी दिनुभयो।

परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन सुरक्षा निकायसँग समन्वय गरी कडा निगरानी व्यवस्था गरिएको छ। प्रश्नपत्र चुहावट, नक्कलजस्ता अनियमितता रोक्न विशेष रणनीति अपनाइएको र कुनै त्रुटि भेटिएमा तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।
त्यसैगरी, निरीक्षक, सुपरिवेक्षक तथा केन्द्राध्यक्षहरूको छनोट योग्यता र अनुभवका आधारमा गरिएको छ भने शिक्षकहरूलाई परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। विद्यार्थीहरूको मानसिक दबाब कम गर्न परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको जनाइएको छ। अपाङ्गता भएका तथा दुर्गम क्षेत्रका विद्यार्थीका लागि विशेष सुविधा व्यवस्था गरिएको चौलागाईंले बताउनुभयो ।