जसपा नेपालले अध्यादेशबारे छलफल गर्न बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालले अध्यादेशबारे छलफल गर्न यहि फागुन १८,१९ र २० गतेको लागि  केन्द्रीय समिति बैठक बोलाएको छ ।

‘मुख्यतः अध्यादेशकै विषय हो । अध्यादेशमा आएका विषय कार्यदल बनाएर पनि हेरेका छौं । केही विषयमा केन्द्रीय समितिमा समेत छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाइएको हो’ जसपा नेता प्रकाश अधिकारीले भने ।

उनका अनुसार केन्द्रीय समितिको बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्नेछ ।

सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति अध्यादेशमा रहेका विषयवस्तुबारे जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो । अध्ययनको आधारमा जसपा नेपालको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने निर्णय गरेको छ ।

भूमि सम्बन्धी अध्यादेश फिर्ता लिए बाँकी पाँच वटा अध्यादेश अगाडि बढाउने सम्बन्धमा सकारात्मक हुने जसपा नेपालका नेताहरू बताउँछन् । जसपा नेपालको यो सर्तले सरकारले कुनै पनि अध्यादेश संसदीय प्रक्रियामा अगाडि बढाउन सकिरहेको छैन ।

यही बेला जसपा नेपालले केन्द्रीय समितिको बैठक नै राखेर अध्यादेशबारे थप छलफल गर्न लागेको हो ।

केन्द्रीय समितिको बैठकमा अध्यादेशका अलावा सामसामयिक राजनीतिबारे समेत छलफल हुनेछ । यसअघि जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ चलाएको थियो । उक्त अभियानको समीक्षा हुनेछ ।