बीआरआईको केही नीतिगत व्यवस्था परिवर्तन गर्न आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड


२१ असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनद्वारा अघि बढाइएको बीआरआई परियोजना योजनावद्व रुपमा कार्यान्वयन गरिने बताएका छन् । बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा आइतबार राजधानीमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आयोजना गरेको ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो परियोजना कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । तर, परियोजनाका केही अप्ठ्यारा नीतिगत व्यवस्था परिवर्तन गर्न आवश्यक रहेकाले यसका लागि छिमेकी चीन तयार हुनुपर्ने उनले बताए ।

‘सन् २०१३ मा मेरै पालामा बीआरआई कार्यक्रमको सुरुवात भएको हो । यश परियोजनाले १० वर्ष पूरा गर्दै गर्दा पुनः म मुलुकको नेतृत्वमा छु । यो परियोजना कार्यान्वयनमा हामी कटिबद्ध छौँ’ प्रधानमन्त्री प्रचण्डले भने,’नेपालको विकास निर्माणका लागि तीव्र लगानी आवश्यक छ । त्यसका लागि बीआरआई हाम्रा लागि अवसर पनि हो ।’

परियोजना कार्यान्वयनका लागि कार्यतालिका नै बनाएर योजनाबद्ध लाग्ने बताएका प्रधानमन्त्री प्रचण्डले भने, ‘तर बीआरआई अन्तर्गतको वित्तीय लगानी नीतिमा मसिनो ढङ्गले छलफल गर्नुपर्ने र चीनले आफ्ना कतिपय नीतिमा पुनर्विचार गर्नुपर्छ ।’
पछिल्लो पटकको आफ्नो चीन भ्रमण निकै उपलब्धिमुलक भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले सो बीआरआई परियोजना अन्तर्गतको केही मुद्दामा समेत सहमति गरिएको उनले बताए ।