“भ्रष्टाचार शून्य बाँके–२” अभियानसहित दिपेन्द्र बिष्टको प्रतिबद्धता पत्र सार्वजनिक


नेपालगन्ज। बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले “भ्रष्टाचार शून्य बाँके–२” अभियानलाई मूल मुद्दाका रूपमा अघि सार्दै आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार सार्वजनिक गरिएको घोषणापत्रले सुशासन, पारदर्शिता र आधुनिक प्रविधिलाई केन्द्रमा राख्दै बाँके–२ लाई नमुना निर्वाचन क्षेत्र बनाउने स्पष्ट खाका प्रस्तुत गरेको छ।

प्रतिबद्धता पत्रमा सार्वजनिक खर्चको पारदर्शी अनुगमन, सबै ठेक्का तथा योजनाको डिजिटल सार्वजनिक विवरण, अनलाइन गुनासो व्यवस्थापन प्रणाली र सामाजिक अडिटलाई अनिवार्य गरिने उल्लेख गरिएको छ। बिष्टले “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता” नीतिअनुसार प्रशासनिक सुधार अघि बढाउने दाबी गरेका छन्।
सूचना प्रविधिमैत्री नेपालगन्ज बनाउने योजना
प्रतिबद्धता पत्रमा नेपालगन्ज लाई सूचना प्रविधिमैत्री सेवा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ। नागरिकका सिफारिस, कर भुक्तानी लगायत सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराइने, सबै शुल्क डिजिटल प्रणालीबाट तिरिने तथा सेवाको फाइल अवस्था नागरिकले आफैं अनलाइन ट्र्याक गर्न सक्ने व्यवस्था लागू गरिने उल्लेख छ।
उच्च गतिको इन्टरनेटसहित टेक पार्क र इन्कुभेसन सेन्टर स्थापना गरी युवालाई कोडिङ, डिजिटल मार्केटिङ र फ्रिलान्सिङजस्ता सीपमूलक तालिम प्रदान गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
युवा रोजगारी र उद्यमशीलतामा जोड
युवा रोजगारीलाई प्रतिबद्धता पत्रको मेरुदण्डका रूपमा प्रस्तुत गर्दै उत्पादनमा आधारित स्वरोजगार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। युवा उद्यमीलाई बिना धितो सहुलियत कर्जा, सस्तो ब्याजदर र कर छुटको व्यवस्था गरी स्थानीय स्तरमै अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
बाढी समाधान र भूमि व्यवस्थापन
बाढी समस्याको दीर्घकालीन समाधानका लागि राप्ती नदी मा वैज्ञानिक तथा दिगो तटबन्ध निर्माण गरिने योजना अघि सारिएको छ। बगर क्षेत्रलाई व्यावसायिक तरकारी खेतीसँग जोड्ने तथा बाढी–डुबान व्यवस्थापनमा स्थानीय समुदायको निर्णायक सहभागिता सुनिश्चित गर्ने रणनीति पनि समेटिएको छ। साथै भूमिहीन सुकुम्बासी तथा भूमि समस्याको नीतिगत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।
पर्यटन र धार्मिक क्षेत्रको विकास
पर्यटन प्रवर्द्धनतर्फ लुम्बिनी–नेपालगन्ज पर्यटन सर्किटलाई सुदृढ बनाउने योजना अघि सारिएको छ। कम्दी–बालापुर क्षेत्रको प्राचीन गुम्बा तथा बृहतकालीन शहरको पुरातात्विक खोज तथा अनुसन्धानका लागि लुम्बिनी विकास कोष र नेपाल सरकारसँग समन्वय गरिने उल्लेख छ।

साथै बागेश्वरी मन्दिर लाई ‘स्मार्ट बागेश्वरी’ का रूपमा विकास गर्दै डिजिटल व्यवस्थापन प्रणाली स्थापना गर्ने योजना पनि समेटिएको छ।