कोहलपुरमा २०० युवा प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश, नमुना थप बलियो बन्दै


बाँके । बाँके जिल्लामा निर्वाचन सरगर्मी बढ्दो क्रममा रहेका बेला कोहलपुरमा आयोजित एक कार्यक्रमका बीच २०० भन्दा बढी युवाहरु प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। उनीहरूले बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कृष्णा के.सि. नमुनालाई आँखा चुनाव चिन्हमा मतदान गरि विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी पूर्व मन्त्रीसमेत रहिसकेकी नमुना बलियो दाबेदारका रूपमा अघि बढेकी छन्।

यस निर्वाचन क्षेत्रमा नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका गरी तीन वटा स्थानीय तह रहेका छन्। नमुना यसअघि लुम्बिनी प्रदेश सभा सदस्यमा दुई पटक प्रत्यक्ष निर्वाचित भई जनताको  माग बमोजिम राम्रो कार्यसम्पादन गरिसकेकी छन्। आफ्नो कार्यकालमा राप्तीसोनारी र नरैनापुर क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक कालोपत्रे, भौतिक पूर्वाधार निर्माण तथा विद्युतीकरण जस्ता क्षेत्रमा उल्लेखनीय काम गरी आधुनिक पालिका निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीय बासिन्दाहरू बताउँछन्।

कार्यक्रममा बोल्दै नवप्रवेशी युवाहरूले “काम गर्ने इमानदार नेतृत्व खोजिरहेका छौं, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सक्ने सक्षम उम्मेदवारलाई रोज्ने हो, त्यसैले यसपटक नमुनालाई संघीय संसदमा पठाउने हाम्रो लक्ष्य हो” भन्दै समर्थन जनाएका छन्।

नमुनाको दैनिक घरदैलो अभियान समेत तीव्र रूपमा अघि बढिरहेको छ। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनी आफ्नो विकासको एजेन्डा र भावी योजना प्रस्तुत गरिरहेकी छन्। प्रदेश सभामा रहँदा जनताको अधिकारका विषयमा सशक्त आवाज उठाएको र क्षेत्रीय विकासमा देखाएको सक्रियताका कारण उनको जित्ने आधार बलियो बन्दै गएको  दाबी गरिन्छ।

बाँके क्षेत्र नं. १ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ भने नमुनाको पक्षमा देखिएको युवा समर्थनले चुनावी समीकरणमा नमुना लाई थप बलियो बनाएको छ ।