जुम्ला । जुम्ला जिल्लामा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। नयाँ मतदाता थपिएसँगै जिल्लाको कुल मतदाता संख्या ७१ हजार ६३९ पुगेको छ। आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले मतदाता संख्या तथा मतदान केन्द्रको विवरण सार्वजनिक गरेको हो। कार्यालयका अनुसार वि.स. २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने मतदातासहित जिल्लाको कुल मतदाता संख्या ७१ हजार ६३९ पुगेको हो।
कुल मतदातामध्ये पुरुष ३७ हजार ४५९ र महिला ३४ हजार २८० रहेका छन्। वि.स. २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता रहेका थिए। पछिल्लो तथ्याङ्क अनुसार त्यसयता ३ हजार १०१ नयाँ मतदाता थपिएका हुन्, जसमा पुरुष १ हजार ७५९ र महिला १ हजार ३४२ जना छन्। मतदान पूर्वतयारीका क्रममा जिल्लामा ८५ वटा मतदानस्थल र ११० वटा मतदान केन्द्र तोकिएका छन्।
जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार आठ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदान केन्द्र चन्दननाथ नगरपालिकामा १८ वटा रहेका छन्। त्यस्तै, सबैभन्दा कम मतदान केन्द्र गुठीचौर गाउँपालिकामा १० वटा तोकिएको छ। निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक तथा मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको जनाएको छ।




बिहानीको तारा । १३ माघ २०८२, मंगलवार १३:५८