नेपालगन्ज । नेपालगन्ज ख्रीष्टियन समाजको आयोजनामा ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई धार्मिक सहिष्णुता र सहअस्तित्वको सहरका रूपमा उल्लेख गर्नुभयो।
पूर्व मन्त्री राईले नेपालगन्जमा विभिन्न भाषा, धर्म र संस्कृतिका मानिसहरूको सहअस्तित्व रहे पनि धार्मिक सद्भाव मजबुत रहेको बताउँदै ख्रीष्टमसको अवसरमा शुभकामना आदान–प्रदान गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले आफू नेपालगन्जको विकाससँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै जिम्मेवारीको स्थानमा पुगेपछि ख्रीष्टियन समुदायका जायज मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। “मलाई चुरन मन्त्रीसम्म पनि भनियो, तर आज ती योजनाहरू क्रमशः पूरा भइरहेका छन्,” अहिले योजना सम्पन्न हुँदा चुरन भन्नेको जवाफ दिएको उहाँले भन्नुभयो।
समाजका अध्यक्ष पास्टर प्रवजन शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका केन्द्रीय अध्यक्ष पास्टर लोक बहादुर चौधरीले बाइबलको लुका २:११ बाट ख्रीष्टमस सन्देश दिनुभयो। उहाँले ख्रीष्टमस केवल धार्मिक पर्व मात्र नभई मानवताका लागि आशा, प्रेम र उद्धारको सन्देश भएको उल्लेख गर्दै सहिष्णुता, मेलमिलाप र न्याय स्थापनामा ख्रीष्टियन समुदायको जिम्मेवारी अझ बढ्नुपर्ने धारणा राख्नुभयो।
प्रवचनपछि शुभकामना मन्तव्य राख्दै लुम्बिनी प्रदेश ख्रीष्टियन समाजका सचिव डा. डम्बर थापाले धार्मिक सहअस्तित्व र सामाजिक सद्भावलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै, अतिथि पत्रकार डा. डक्ट धितालले ख्रीष्टियन समुदायलाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिँदै आएको गुनासो गर्दै समाधिस्थल, कार्यालय तथा संस्थागत पहिचानजस्ता आधारभूत विषयमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमको सञ्चालन समाजका कोषाध्यक्ष राजेन्द्र सुनारले गर्नुभएको थियो भने उपाध्यक्ष प्रेम रोकायले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा आराधना तथा सामूहिक प्रार्थनासमेत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद इस्तियाक राई, विशिष्ट अतिथि पास्टर लोक बहादुर चौधरी, लुम्बिनी प्रदेश ख्रीष्टियन समाजका सचिव डा. डम्बर थापा, पत्रकार डा. डक्ट धिताल, समाजका निवर्तमान अध्यक्ष रमेश राज रेग्मी, पास्टर कुलप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो। नेपालगन्ज र आसपासका क्षेत्रबाट ७० जनाभन्दा बढी पास्टर तथा ख्रीष्टियन अगुवाहरू सहभागी भएका थिए।
कार्यक्रमको अन्त्यमा अध्यक्ष पास्टर प्रवजन शाहीले समापन मन्तव्य राख्दै ख्रीष्टमसको सन्देशले सबैलाई प्रेम, शान्ति र मेलमिलापको मार्गमा हिँड्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।






सन्तोष कुमार बिष्ट । ३ पुष २०८२, बिहीबार १७:११