नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा) बाँकेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके निर्वाचन क्षेत्र नं. २ बाट पूर्व मन्त्री मोहम्मद इश्तियाक राईको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीको जिल्ला स्तरीय विस्तारित बैठकमार्फत बाँकेका तीनवटै निर्वाचन क्षेत्र तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको हो। पार्टी सचिव राजेन्द्र विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बाँके निर्वाचन क्षेत्र नं. १ बाट अम्मर खड्का र मो. सलिम हल्वाई (बाबु नेता) उम्मेदवार सिफारिस भएका छन्।
यसैगरी बाँके निर्वाचन क्षेत्र नं. ३ बाट जय प्रकाश बर्मा (चिन्टु बर्मा), हिरा लाल लोनिया, ग्यासुद्दिन खाँन, असलम अन्सारी र तरन्नुम बानो राईलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
समानुपातिक तर्फ हसिना खाँन, गीता कुमारी ठकुरी, तरन्नुम बानो ढपाली, लिला सिंह मल्ल (लालिमा), उमेश यादव, नसरीन हल्वाइ, अनिश धोबी, रुहि बानो हल्वाई, किरण बर्मा, जनक कुमारी चिडिमार, किर्तन हरिजन (चमार), मो. जावेद खाँन र बिनिता बर्माको नाम सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले समावेशिता, समान प्रतिनिधित्व र लोकतान्त्रिक मूल्य–मान्यतालाई आधार मानेर उम्मेदवार चयन गरिएको जसपा बाँकेका सचिव विश्वकर्माले जानकारी दिए। साथै, निर्वाचनमार्फत जनताको विश्वास जित्दै बाँकेका तीनवटै निर्वाचन क्षेत्रबाट जसपाले विजय हासिल गर्ने दाबी समेत पार्टीले गरेको छ।





सन्तोष कुमार बिष्ट । २९ मंसिर २०८२, सोमबार १८:२६