
५ चैत २०७८ काठमाडौं । सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ । हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं । संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को भने हस्ताक्षर छैन । यसअघि सत्ता गठबन्धन आवद्ध सबै विद्यार्थीले हरेक विषयमा संयुक्त विज्ञप्ति निकाल्ने गरेका थिए ।
शनिबार जारी गरिएको विज्ञप्तिमा नेविसंघबाहेकका सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनको मात्रै हस्ताक्षर छ । विज्ञप्तिमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति




बिहानीको तारा । ५ चैत्र २०७८, शनिबार १८:५१