आजबाट नेपालगन्जका कार्यालयहरुमा अस्थायी रुपमा सेवा सुरु

नेपालगन्ज । जेनेरेसन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि क्षतिग्रस्त कार्यालयमध्ये केहीले आइतबारदेखि अस्थायी रुपमा सेवा दिन थालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर–नेपालगन्ज इजलासले सेवा प्रवाह सुरु गरेका हुन् । उपमहानगरपालिकाले टेन्ट टाँगेर नागरिकको अत्यावश्यक काम गर्न थालेको प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।

भन्सार कार्यालय नेपालगन्जले आयात–निर्यात र जाँचपास सुरु गरेको छ भने उच्च अदालतले बन्दीप्रत्यक्षकरणसम्बन्धी मुद्दा सुुनाउन थालेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भने आगजनीले सबै संरचना नष्ट भएकाले तत्काल सेवा दिन नसक्ने अवस्थामा छ ।

यसैबीच बाँकेका निजी तथा सरकारी विद्यालय सञ्चालनमा आएका छन् । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले परीक्षा नजिकिएकाले विद्यालय खुलेको र सहज वातावरण कायम गर्न सहयोग गर्न आग्रह गरेका छन् ।