ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल आज सकिने भएको छ। प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा १० वटा समूहमा विभाजन गरी छलफल गरिँदै आएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कोशी प्रदेशले आफ्नो समूहगत छलफल सम्पन्न गरी प्रतिवेदन लेखनको काम थालिसकेको छ। शनिबारसम्म छलफल टुंग्याएर भोलि समूहगत नेताहरूले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
समूहगत रूपमा आएका सुझाव तथा प्रश्नहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। कुनै विषयमा सहमति हुन नसकेमा मतदानमार्फत टुङ्गो लगाइने गौतमले बताए।
महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि आफ्नो प्रतिवेदन पेश गरेका थिए।
आजको सत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले पनि आ–आफ्ना निकायका प्रतिवेदन पेस गरेका छन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३४१ जनाको सहभागिता रहेको छ।




बिहानीको तारा । २१ भाद्र २०८२, शनिबार १७:२५